रक्त सञ्चार सेवा गुणस्तरीय बनाइने

समाधान संवाददाता २०८० पुष ६ गते १२:५३

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले सञ्चालन गरेको गण्डकी प्रदेश स्तरको रक्त सञ्चार सेवालाई गुणस्तर र सहज बनाउने क्रममा सरोकारवालासँग बिहीबार छलफल गरिएको छ ।


इमुकोर इन्डिया प्रालि नयाँदिल्ली भारत तथा रारुस इन्टर ग्लोबल प्रालि काठमाडौंसँगको सहकार्यमा रेडक्रसले ‘नीड अफ अटोमेसन इन व्लडबैंक’ विषयक छलफल गरेको हो । इमुकोर इन्डियाका रक्त सञ्चार प्राविधिक प्रशान्त कर्णले रक्त सञ्चार सेवालाई अटोमेसन प्रविधिमा लैजाँदा प्राविधिकबाट हुने मानवीय त्रुटि कम हुने बताए । अटोेसनले रक्तदाताको पहिचान र बिरामीलाई सुरक्षित रुपमा रगत प्रदान गर्न सहज हुने जानकारी दिँदै उनले प्राविधिकलाई बोझ कम हुने दाबी गरे ।


प्राडा प्रदीप घिमिरेले अहिलेको रक्त सञ्चार सेवामा हुने मानवीय त्रुटि कम गर्न अटोमेसन प्रविधिमा जानुको विकल्प नभएको बताए । उनले अटोमेसनमा जाँदा प्राविधिकलाई कार्यबोझ कमी हुने र बिरामीलाई सुरक्षा प्रदान गर्ने बताए ।

Advertisement


कार्यक्रममा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले समग्र गण्डकी प्रदेशको रक्तसञ्चार सेवाको वर्तमान अवस्थाबारे प्रकाश पारे । उनले रक्त सञ्चा सेवालाई गुणस्तरीय र सहज बनाउनका लागि अटोमेसन लगायतका नयाँ प्रविधिमा जानुपर्ने चर्चा गरे । अहिले वार्षिक रुपमा २० हजार युनिट रगत संकलन गरेको जानकारी दिँदै उनले दिन प्रतिदिन रगतको माग बढ्दो भएको सुनाए ।


नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले गण्डकी प्रदेश भरी दिने रक्त सेवामध्ये ९० प्रतिशत सेवा कास्कीले दिने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलले प्रदेश सरकारले प्राविधिक सहयोग गरेर प्रदेशमा बसोबास गर्ने सबै नागरिकलाई रगत तथा रगतजन्य सेवा निःशुल्क गरेको बताए ।

Advertisement


‘नेपालमा रेडक्रसले रगत संकलन, भण्डारण र वितरणको काम गरेको छ,’ उनले भने, ‘अत्याधुनिक रक्त सञ्चार सेवाको बारेमा ज्ञान दिनुका अलवा सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउनमा ध्यान दिएका छौं ।’ उनले रक्तसञ्चार सेवाका लागि आवश्यक हुने जनशक्ति, भौतिक पूर्वाधार, एम्बुलेन्स, भ्यानसहित औजार–उपकरणको व्यवस्थापनको चुनौती रहेकाले ती कार्यमा सबैको सहयोगको अपेक्षा गरे ।


कार्यक्रममा कास्की शाखाका उपसभापति एवं प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका संयोजक धर्मराज अधिकारी र रारुस इन्टर ग्लोबल प्रालिका निर्देशक प्रेम मल्लले रक्त सञ्चारका लागि प्रदान गरिने प्राविधिक सेवाको बारेमा सरकार र जनतालाई बुझाउनुपर्ने बताए ।

सबै क्षेत्रको सहयोगमा रेडक्रसले करिब ८ करोड लागतमा गण्डकी प्रदेश स्तरको अत्याधुनिक रक्त सञ्चार सेवा (व्लड बंैक) सहितको बहुउद्देश्यीय भवन बनाएको छ । अहिलेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान परिसर रामघाटको विकल्पमा सिर्जनाचोकमा अण्डरग्राउन्ड पार्किङसहित ३ तले भवन सुविधा सम्पन्न भवन बनेको छ । अपांगमैत्री लिफ्ट सहितको ब्लड बंैकको मुल भवनबाट प्रदेश स्तरको सेवा प्रदान गर्ने रेडक्रसको योजना छ ।

तपाईको प्रतिक्रिया