बालोदयमा आँखा जाँच शिविर र सचेतना

समाधान संवाददाता २०८० पुष ८ गते १२:२३

पोखरा ।
बिरौटामा अवस्थित बालोदय माध्यमिक विद्यालयमा आँखा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । इन्टरएक्ट क्लब अफ बालोदयको आयोजना, विद्यालयको व्यवस्थापन तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका करिब १३०० विद्यार्थी लगायत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको आँखा जाँच गरिएको छ । जाँचका क्रममा आँखामा समस्या देखिएका विद्यार्थीहरुलाई थप जाँच तथा उपचारका लागि अस्पतालमा सिफारिस गरिएको जानकारी विद्यालयका सहक्रियाकलाप प्रमुख ईश्वर ढकालले गराए ।


उक्त कार्यक्रममा हिमालय आँखा अस्पतालका आउटरिच कोअर्डिनटर सुवास नेपालले आँखाको दृष्टिलाई मजबुत बनाई कसरी लामो समयसम्म टिकाउन सकिन्छ र यसका लागि सावधानीका के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्नेबारे विद्यार्थीहरुलाई सचेत गराएका थिए । विद्यालयको इन्टरएक्ट क्लबका पदाधिकारी विद्यार्थीहरूको सक्रियतामा सञ्चालित सो कार्यक्रम पुस ५ र ६ गते गरी २ दिनसम्म चलेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया