रविलाई खोइला हान्ने युवा हिरासत मै, १० दिन म्याद थप

समाधान संवाददाता २०८० पुष ८ गते १८:५३

पाेखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने माथि मकैको खोइला प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटलाई १० दिनकाे म्याद थपेर हिरासतमै राखिएकाे छ । कास्की प्रहरीले उनी माथि थप अनुसन्धान गर्न भन्दै १० दिन समय मागे अनुसार नै जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद थप गरेको हो ।

शनिबार पोखराको अमरसिंह चोकमा पार्टीको सभालाई सम्बोधन गर्दै गर्दा लमजुङ राइनासका रानाभाटले लामिछानेलाई लक्षित गरेर मकैको खोइला मञ्च तर्फ फालेका थिए ।

Advertisement

खोइला प्रहारपछि पनि सम्बोधन गरेका अध्यक्ष लामिछानेले आफूलाई आक्रमण गर्न खोज्नेलाई केही पनि कारवाही नगर्न प्रहरी प्रशासनलाई आदेश नै दिएका थिए । उनले भनेका थिए– पूर्व गृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नु, मग मग बसाउने फुलकाे थुङ्गा दिएर घर पठाईदिनु ।

रविले यसाे भन्नु अघि उनका कार्यकर्ताले ती युवालाई प्रहरी नियन्त्रण मै रहेको बेला पनि हातपात गरेका थिए । प्रहरीले भिडबाट जाेगाएर उनलाई नियन्त्रणमा लिएका थियाे ।

Advertisement

रविले छोड्न आदेश दिए पनि कास्की प्रहरीले बिना अनुसन्धान उनलाई छुट नदिने भएको छ । उहाँले उजुरी त दिनु भएको छैन्, तर घटना किन र कसरी घट्याे घटाइयाे भन्ने कुरा अनुसन्धान गर्नु प्रहरीको दायित्व हाे, त्यसैले आज म्याद थपेर अनुसन्धान जारी राख्छाै–कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले समाधानसँग भने ।

एसपी थापाका अनुसार उनले आक्रमण गरेको कुरा पनि अस्वीकार गरेका छन् । हान्छु भनेर नहानेको, झुक्किएर खोइला मञ्च तिर गएकाे बयान दिएकाे थापाले बताए । झट्ट हेर्दा मानसिक स्थिति पनि ठिक नभएकाे देखिन्छ–उनले भने ।

तर पनि अनुसन्धानलाई पूर्णता दिनका लागि म्याद थपेरै सबै पाटाहरु केलाउने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया