पोखरा सडक महोत्सवमा ६ लाख पर्यटक आउने अनुमान

समाधान संवाददाता २०८० पुष ११ गते ८:५७

पोखरा ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा ६ लाख पर्यटक आउने अनुमान गरिएको छ । पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने यो महोत्सवमा अनलाइनबाट टिकट काट्न व्यवस्था मिलाइएको मेलाका संयोजक विश्वराज पौडेलले जानकारी दिए । त्यसका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइए हो । त्यसबाट टिकट काट्दा केही सस्तो हुने पनि उनले जानकारी दिए ।


महोत्सवमा सहभागी हुन पोखरा आउने पर्यटकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने महोत्सव आयोजक संस्था रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । उनका अनुसार महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रम सञ्चालन रीमा विश्वकर्माले गर्नेछिन् । न्यु इयर इभमा ¥यापर लाउरे र द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति हुनेछ भने डिसेम्बर ३० तारिखमा मुक्ति एन्ड रिभाइबल ब्यान्डको प्रस्तुति रहनेछ । डिसेम्बर २९ तारिखमा ‘ओ अमिरा’ तथा ‘मन मगन’ फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन् ।


उनीहरुको साथमा लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायत चर्चित ब्यान्ड र गायकहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् । रेबान अध्यक्ष नरेश भट्टराईले यो पटक महोत्सवको रजत वर्ष भएकाले विगतको भन्दा विशेष हुने बताए । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारालाई सफलताका साथ व्यवस्थित रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।

Advertisement

मेलामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसँगै २० भन्दा बढी प्रकारका खानाको स्वाद लिन त पाइन्छ । हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।


महोत्सवमा डुंगा रेस, वेटर रेस, विभिन्न समुदायको झाँकी, कन्सर्ट, आतिस बाजी (फायरवक्स)सँगै अन्य विभिन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउनेहरुले पूर्ण मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया