पोखरा–जामुने सडक स्तरोन्नति तीब्र

ठेक्का तोड्ने चेतावनीपछि तात्यो चिनिया ठेकेदार कम्पनी

समाधान संवाददाता २०८० पुष ११ गते ११:२२

पोखरा ।
राजधानी काठमाडौंसँग पोखरा जोड्ने एकमात्रै पृथ्वी राजमार्गको स्तरोन्नति धमाधम भइरहेको छ । त्यसमा पनि मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ ।


पोखरा र मुग्लिन खण्डमा अहिले गर्नुपर्ने जति काममध्ये १४ प्रतिशत काम पूरा भएको छ । मंसिरसम्म १२ प्रतिशत भौतिक प्रगति भएको थियो । २०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ भदौ १२ मा सक्नुपर्ने सम्झौतामा छ ।


चिनिया ठेकेदार कम्पनी तबमात्रै तातिँदै काममा तीब्र बन्यो, जब आयोजनाले ठेक्का सम्झौता तोड्ने चेतावनी दियो । यो सडक खण्डको जिम्मेवारी चिनिया निर्माण कम्पनी अनहुइ काइयुआन आइवे एन्ड ब्रिजले पाएको छ । उसले जामुने पोखरा खण्डको काम धमाधम अघि बढाएको हो ।

Advertisement


स्तरोन्नतिपछि सडकको पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौंडासहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको बनाइनेछ । एडिबीको ऋण सहयोगमा बनिरहेको यो सडकको पश्चिम खण्डमा करिब ३९ किलोमिटर पर्छ । यसका लागि ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च हुनेछ ।


सडक स्तरोन्नति गर्न चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४ सय २५ जना खटिएका छन् । निर्माण कम्पनीले एक्स्काभेटर ४०, लोडर १०, ग्रेडर छ वटा र पानीको ट्यांकर ८ वटा परिचालन गरेको छ । आयोजनाका इन्जिनियर नारायण पौडेल निर्माण कम्पनीलाई महिना दिनको लक्ष्य दिइएको र त्यो पूरा नभए ठेक्का तोड्ने प्रक्रिया थालिने सुनाए । ‘अब १ वर्ष पनि समय बाँकी छैन । अहिले मेनपावर, उपकरण बढाएको छ । फ्रेब्रुअरीभित्र पाँच किमीसम्म कालोपत्र गर्ने लक्ष्य दिएका छौँ,’ पौडेलले भने ।

Advertisement


निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर फाङ इफाले सब बेस ८० हजार क्युब मिटर र बेस ३० हजार क्युब मिटरका लागि आवश्यक सामग्री तयार राखिएको जनाए । उनले अहिले नै कम्पनीसँग २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार रहेको उल्लेख गरे ।


अस्फाल्ट पिच गर्नुपर्ने भएकाले जाडो घटेपछि तीव्र रुपमा काम हुने कम्पनीले जनाएको छ । सोमबारसम्म १ दशमलव ७ किमीमा सब बेसको काम सकिएको छ । कन्ट्रयाक्ट म्यानेजर इफाले बाँकी अवधि र कोभिडका कारण थपिने छ महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाए । माघ अन्तिम वा फागुन सुरुबाटै कालोपत्र सुरु गर्ने कम्पनीले जनाएको छ ।


सोमबार सडकको काम अवलोकन गर्न पुगेका पोखरा महानगरका प्रमुख धनराज आचार्यले पछिल्लो समय कामको गति बढेको जनाउँदै समयमै काम सक्ने गरी लाग्न आग्रह गरे । ‘गति बढेको देखियो तर सन्तुष्ट भइहाल्ने ठाउँ छैन । पोखरा महानगर क्षेत्रमा काम थालिएकै छैन, त्यहाँ काम नभई प्रगति पनि देखिँदैन,’ उनले भने । सडक स्तरोन्नति ढिलो हुँदा सर्वसाधारणको आवागमन र पर्यटन क्षेत्रसमेत नराम्ररी प्रभावित बनेको उनले औंल्याए ।


शुक्ल गण्डकी नगरपालिकाका प्रमुख कृष्ण पण्डितले आयोजना क्षेत्रमा पर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । शुक्लगण्डकीले आयोजनाले नदीजन्य पदार्थ अरु पालिकामा लैजाँदा शुल्क लिने गरेको छ । प्रमुख पण्डितले संघीय मन्त्रालयले नलिन पत्राचार गरे शुल्क नलिने प्रतिवद्धता गरेका छन् ।


शुक्लागण्डकीले नदीजन्य पदार्थ अन्यत्र लैजाँदा प्रतिगाडी ८ सयदेखि १ हजार २ सयसम्म शुल्क लिने गरेको छ । निर्माण कम्पनीले सडक स्तरोन्नतिमा मुख्य समस्याका रूपमा बिजुलीको पोल र खानेपानीको पाइप व्यवस्थापन रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया