लेकसाइडका तार भूमिगत गरिँदै

समाधान संवाददाता २०८० पुष ११ गते ११:३६
एचडिडी प्रविधिबाट पोखरा ७ मासबारमा तार अन्डरग्राउन्डका लागि सडक खनिँदै ।

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६, लेकसाइडलाई खुला तारमुक्त बनाइँदै छ । स्ट्रेट नम्बर १५ देखि १७ सम्मका सडक र ठाडो पसल क्षेत्रमा भूमिगत तार बिच्छ्याउनका लागि सडक खनेर पाइप राखिसकिएको छ । सँगसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाइना पुलसम्म पाइप बिच्याइसकिएको छ ।


अबको १ वर्षभित्रै लेकसाइडसहित पोखरा महानगरको २६ किमीका सबै तार भूमिगत बनाइसक्ने लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत पोखरामा शुक्रबारसम्म ३० प्रतिशतभन्दा बढी काम भइसकेको छ । पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै चिप्लेढुंगासम्म र जिरोकिमीबाट मालेपाटनसम्म तार भूमिगत गरिँदै छ ।


यसैगरी, पृथ्वीचोकबाट सभागृह, सिर्जनाचोक, जिरो किमी, हल्लनचोक हुँदै खहरेसम्मका तार भूमिगत बनाइँदै छ । सिर्जनाचोकबाट रत्नचोक, राष्ट्रबैंक चोक, सहिदचोक हुँदै लेकसाइडसम्मका तार पनि भूमिगत गरिँदै छ । २०७८ माघमा यसको ठेक्का लागे पनि १८ महिनापछि मात्र काम सुरु भएको थियो । आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदी आयोजनाको २ वर्षे म्याद सकिँदासम्म ४० प्रतिशत काम सकिने बताउँछन् ।

Advertisement


‘अब म्याद एक महिनामात्र बाँकी छ । स्थानीयको उचित सहयोग पाए अबको एक वर्षमा तारहरु भूमिगत भइसक्छन्,’ उनले भने । अहिलेसम्म सर्भे, इन्जिनियरिङ र डिजाइनका सबै काम सकिएका छन् । पाइप राखिसकिएका क्षेत्रमा केबल तान्ने काम २ हप्ताभित्रै सुरु हुनेछ ।

१ वर्षभित्रै लेकसाइडसहित पोखराको २६ किमीका सबै तार भूमिगत भइसक्ने

Advertisement


लेकसाइड रहेको पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई भने आयोजनाले समन्वय नगर्दा र काम ढिलो गर्दा समस्या आएको दाबी गर्छन् । ‘उहाँहरुको समन्वय कम देखियो । हामीले सबै सडक बनाइसकेका छौँ, फेरि खन्नुपर्ने अवस्था आयो,’ भट्टराईले भने ।


तार भूमिगत गरेपछि ठाउँ ठाँउमा क्याबिनेट र अरु उपकरण राखिने छन् । तिनै क्याबिनेटबाट उपभोक्ताको घरसम्मै भूमिगत रुपमा तारहरु पु¥याइनेछ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । ‘विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्’, आयोजना प्रमुख सुवेदीले भने ।


यो आयोजनाको पोखरा खण्डको बजेट १ अर्ब ३० करोड छ । पुरानो पोखराको मुख्य बजार क्षेत्रका तार भूमिगत गर्ने हो भने थप ५ अर्ब खर्च हुने अनुमान छ । पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का ९४ हजार ग्राहक छन् ।


सडकमा सकेसम्म कम क्षति हुने गरी काम भइरहेको छ । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले यो कामको जिम्मा पाएको छ । सम्भव भएका ठाउँमा होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ (एचडिडी) प्रविधिबाट सडक खनेर तार भूमिगत गरिँदै छ ।


एचडिडी प्रविधिमा एक ठाउँमा मेसिन प्रयोग गरी २० मिटरदेखि ९०÷१०० मिटरसम्म सडक नखनी पाइप हाल्न मिल्छ । टाटा पोजेक्ट्सले एचडिडी प्रयोग गरे पनि कडा चट्टान धेरै ठाउँमा आएकाले प्रभावकारी रुपमा काम गर्न कठिनाइ भएको जनाएको छ । भौगर्भिक जटिलताले उपकरणहरु बिग्रिने, मेसिनहरु नै फेर्नुपर्ने अवस्था आएको आयोजना प्रमुख सुवेदीले सुनाए ।


तार भूमिगत गरिसक्नेबित्तिकै विद्युत र अरु सेवा सञ्चालन गर्न सकिने आयोजनाले जनाएको । केबुल, टिभी, इन्टरनेट जस्ता सेवा प्रदायकलाई कसरी यो संरचना उपभोग गर्न दिने भन्ने नियमावली बन्न बाँकी नै छ । यही आयोजनाले बनाएको चितवनको काम भने ६० प्रतिशत सकिएको छ । यहाँको काम भने अबको छ महिनाभित्रै सक्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया