लेखनाथ पत्रकारिता पुरस्कार दीपकलाई

समाधान संवाददाता २०८० पुष ११ गते १२:३६

पोखरा ।
लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष दीपक परियारलाई सम्मान गरिने भएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित यो पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ ।


सञ्चार माध्यमबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पुर्‍याएका १ सञ्चारकर्मीलाई बर्सेनि यो पुरस्कार प्रदान गर्ने गरिएको छ । मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व पुरस्कृत व्यक्तिमध्येबाट वासुदेव पौडेल रहेको छनोट समितिले परियारलाई सिफारिस गरेको हो ।


अहिले कान्तिपुर दैनिकमा आवद्ध परियारले डेढ दशकअघि पत्रकारिता थालेका थिए । पत्रकार महासंघ कास्कीमा २ कार्यकाल सदस्य र एक कार्यकाल सहसचिव रहेका उनी राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनी यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट खेल पत्रकारिता पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीबाट उत्कृष्ट खेल पत्रकार अवार्ड, सहारा खेल पत्रकारिता पुरस्कार बाबा–आनन्द सञ्चार पुरस्कार, मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, सुनास सुशासन पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् ।

Advertisement


यो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल र सरिता तिमिल्सेनाले पाइसकेका छन् । यस वर्षको पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्तीको मुल समारोहमा प्रदान गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया