पर्यटकको आकर्षण गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

राष्ट्रिय समाचार समिति (रासस) २०८० पुष ११ गते १३:०७

गण्डकी ।

गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचभैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा परेको हो ।

लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको केन्द्रमा विभिन्न २३ प्रजातिका पशु तथा चराचुरुंगीको प्रदर्शन गरिको छ । सो उद्यान केन्द्रको एक वर्षको अवधिमा सात हजारभन्दा बढी पर्यटकले अध्ययन अवलोकन गरेका उद्यान व्यवस्थापन समितिका अध्यक्ष दीननाथ ढकालले जानकारी दिए ।

Advertisement

उद्यान केन्द्रमा चितुवा, नीलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिंगर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा, बाँदर, खरायोलगायत २३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउनेछन् । बृहत् पोखराको अवधारणाअनुसार स्थापना गरी सञ्चालनमा आएको उक्त केन्द्रले २०७९ साल पुसदेखि खुला गरिएको केन्द्रले टिकट बिक्रीबाट रु एक लाख ८४ हजार एक सय ९० आम्दानी गरेको उनले बताए ।

अवलोकन गर्नेमा विद्यार्थीको संख्या बढी छ । प्रदेश सरकारको व्यवस्थापनमा डिभिजन वन कार्यालय कास्कीले हेर्नेगरी स्थानीयवासी, वन उपभोक्ता समिति र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा १५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको उनको भनाइ छ ।

Advertisement


“चिडियाखानाका रूपमा विकास गर्नका लागि यसको निरन्तरता र व्यवस्थित गर्न गुरुयोजना निर्माण गर्नु अपरिहार्य छ”, अध्यक्ष ढकालले भने, “त्यसका लागि तीनै तहका सरकारको विशेष ध्यान पुग्नु पर्दछ ।” गण्डकी प्रदेश सरकारले यस आवका लागि कुल रु ८२ लाख बजेट विनियोजन गरेको जनाउँदै उनले यो रकमबाट रु ४० लाख वन्यजन्तु र पक्षीको आहारा र अन्य व्यवस्थापनामा खर्च हुने र रु ४२ लाख खोर मर्मत तथा आवश्यक भौतिक निर्माणमा लगानी गरिने बताए ।

उद्यान केन्द्रमा प्रदेश सरकार, डिभिजन वन कार्यालय, लेखनाथ नगरपालिका र युनाइटेड क्लबको गरी लगभग रु पाँच करोड लगानी भइसकेको छ । डिभिजन वन कार्यालयद्वारा केन्द्रमा एक जना व्यवस्थापक र तीन सहयोगी कर्मचारीको व्यवस्थापन गरेको छ । पचघैया सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष एवं व्यवस्थापन समितिका सदस्य वुद्धिबहादुर गुरुङका अनुसार स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेपछि सुझाव र सल्लाहका साथै आगन्तुक पुस्तिकामा आफ्नो अनुभव लेख्ने व्यवस्था गरिएको छ ।

चिडियाखानाको व्यवस्थापन र प्रचार प्रसारमा जोड दिनुपर्ने आगन्तुकको सामूहिक सुझाव छ । वन्यजन्तु अवलोकनसँगै यस क्षेत्रका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थल संरक्षण र प्रवर्द्धन तथा थप पर्यटकीय गन्तव्यको विकासमा जोड दिइएको उनको भनाइ छ ।

खुला चिडिायाखानासँगै यस क्षेत्रका ऐतिहासिक एवं धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलीलगायतका यहाँ धार्मिक क्षेत्रको प्रचार–प्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने लक्ष्य रहेको गुरुङले भने । पोखरा–३१ सिमलटुडा र रुपा गाउँपालिका भङगारा जोड्ने रुपातालमाथि निर्मित झोलुंगे पुल पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पोखराका तालमध्येको तेसे ठूलो ताल रुपाको समिपमा पर्ने यस उद्यान केन्द्र रहेको छ । जुन क्षेत्र हावापानी, चरनका लागि उपयुक्त भएको कारण नै परापूर्वकालदेखि साइवेरियाबाट चरा आउने र सन्तान उत्पादन गरेर सँगै लिएर फर्कने प्रक्रिया अहिले पनि निरन्तर चलेको छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइने विभिन्न क्षेत्रका विज्ञले तयार पारेको तथ्यांकका उल्लेख रहेको समूहका कोषाध्यक्ष गुरुङले भने ।

युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणका लागि छुट्याउँदै आएको १२औँ संस्करणको पोखरा महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलमा अध्यक्ष राजु श्रेष्ठले बताए । क्लबले चिडियाखाना निर्माणका लागि हालसम्म रु ५८ लाख ८५ हजार हस्तान्तरण गरेको उनले बताए ।

बेगनासताल र रुपातालको बीच भागस्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३१ र ३२ पचघैया ९०, चैनपुरको ३४ र चापापानी चिसाकुना सामुदायिक वनको १४ गरी कुल एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यान केन्द्र पोखराको मुख्य बजारबाट २५ किलोमिटरको दूरीमा रहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया