निजामति कर्मचारीलाई प्रशिक्षण

समाधान संवाददाता २०८० पुष ११ गते १३:२६

पोखरा ।
नेपाल निजामति कर्मचारी संगठन कास्कीले संगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ । कास्की जिल्ला स्तरीय प्रशिक्षण संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले मंगलबार सुरुआत गरे ।


कार्यक्रममा संगठनका अध्यक्ष कोइरालाले ट्रेड युनियन आन्दोलनको संक्षिप्त इतिहास र निजामति कर्मचारी संगठनको आगामी कार्यभार, संगठनका उपाध्यक्ष भवानी न्यौपाने दाहालले नेतृत्व शैली र क्षमता विकास, संगठनका पूर्व सचिव तथा नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरले संघ प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध, प्राकृतिक चिकित्सक विनोद पौडेलले सकारात्मक सोंच र स्वास्थ जीवनशैलीको विषयमा सहजीकरण गरेको संगठन कास्कीका अध्यक्ष विष्णुदेवी पोखरेलले जानकारी दिइन् ।


संगठनका अध्यक्ष कोइरालाले निजामति ऐन र नियमावली अनुसार २०६४ सालपछि निजामति कर्मचारीले ट्रेड युनियन अधिकार पाएको जानकारी दिए । उनले संघ प्रदेश र स्थानीय तहमा कर्मचारी तथा ट्रेड युनियनमैत्री निजामति कर्मचारी ऐन जारी गर्न पहल गरेको उल्लेख गरे । उनले सबै स्थानीय तहमा संगठन विस्तार गर्ने योजना सुनाए ।

Advertisement


सहसचिव कुँवरले नेपालको संविधानको धारा २३२ले संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा हुने व्यवस्था गरेको जानकारी दिए । उनले तीन तहबीच विधायकी, राजनीतिक तथा कार्यपालिकीय, न्यायिक, वित्तिय र प्रशासनिक लगायतको अन्तरसम्बन्ध हुने बताए ।


संगठनका उपाध्यक्ष दाहालले संगठनमा विचारको बहस कम भएकाले बढाउनु पर्ने खाँचो औंल्याइन् । प्राकृतिक चिकित्सक पौडेलले पछिल्लो समयमा नसर्ने रोगको कारण धेरै व्यक्तिको ज्यान जाने गरेको उल्लेख गरे । उनले गलत खानपान, तनावयुक्त जीवन र व्यायामको कमीले नसर्ने रोगको प्रकोप बढेको जानकारी दिए ।

Advertisement


नेपाल निजामति कर्मचारी संगठनका कास्कीका अध्यक्ष विष्णुदेवी पोखरेल, सहसचिव सुशीलादेवी पोखरेल लगायतले समय सापेक्ष रुपमा प्रशिक्षित नभए सांगठनिक जिम्मेवारी पूरा गर्न नसकिने भएकोले प्रशिक्षणको आयोजना गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया