पूर्वडीआईजी भ्रष्टाचारी ठहर

समाधान संवाददाता २०८० पुष १२ गते ११:५७

पोखरा ।
विशेष अदालतले अवकाशप्राप्त डीआइजी महेशबिक्रम शाहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । शाहसहित चार प्रहरीमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाह र पूर्व सई दीपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका छन् ।


सजाय भने २५ पुसमा सुनाइनेछ । ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ । २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण २०७६ माघमा अवकास पाएका थिए ।

Advertisement


त्यसको अर्को महिना २० फागुन २०७६ मा चार वर्ष पहिले भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो । २०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको नया भर्ना सुरु भएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाँउबाट तलबभत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो ।


र शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो । १ सय ३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार अनि नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप उनीहरुमाथि थियो ।

Advertisement

तपाईको प्रतिक्रिया