पोखरा सडक महोत्सवको २५ औं पाइला

समाधान संवाददाता २०८० पुष १२ गते १२:००

पोखरा ।
जसै चिसो बढ्दै जान्थ्यो, पोखरा आएका पर्यटक पनि अरु गन्तव्यतिर सोझिन्थे । घरै नर्फिए पनि नेपाल बाहिरका पर्यटकीय स्थल उनीहरुको गन्तव्य हुन्थे । कारण के भने पोखरामा उनीहरु अड्याउने चिजबिज वा गतिविधि भेट्दैनथे । अनि त अंग्रेजी नयाँ वर्ष र क्रिसमसको बेला पोखरामा खासै कुनै गतिविधि हुँदैनथ्यो । पर्यटकलाई यहीं बसेर रमाउने बहानै मिल्दैनथ्यो ।


त्यो १५ वर्षअघिको कुरा हो । त्यो कुरा अहिलेचाहिँ समयले मात्रै होइन, परिवर्तित गतिविधिले पनि इतिहास बनाइदिएको छ । अचेल विदेशी पर्यटक व्रिmसमस र नयाँ वर्ष आउँदा पनि पोखरा अडिन्छन् । बरु अन्त कतै भए पनि पोखरा आउँछन् । अंग्रेजी नयाँ वर्षमा हुने ‘पोखरा सडक महोत्सव’ पर्यटक अड्याइरहने र तान्ने चुम्बक जो बनिसकेको छ ।


पछिल्लो समय घुमफिर संस्कृतिमा रमाउन थालेका स्वदेशीलाई पनि पोखरा आउने बहाना यो समय बन्न थालेको छ । बर्सेनि गरिने सडक महोत्सवले छुट्टै ब्रान्ड बनाएको बताउँछन् पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ । भन्छन्, ‘निजी क्षेत्रले थालेको महोत्सवले आर्थिक गतिविधि बढाउन सघाएको छ । स्थानीय उत्पादनहरुको बजारीकरण भएका छन् । कला, संस्कृतिको जगेर्ना भएको छ ।’

Advertisement


अचेल लाखौं संख्यामा पर्यटक आउने दाबी गरिएको पर्वको सुरुआतको कथा रोचक छ । रेबान पोखराका संस्थापक उपाध्यक्षसमेत रहेका पुराना पर्यटनकर्मी गणेशबहादुर भट्टराई अंग्रेजी नयाँ वर्षकै बेला उनताका पोखरामा भएका पर्यटकका पाइला पनि अन्तै मोडिने गरेको सम्झन्छन् । उनकै भनाइमा युरोपेली पर्यटक नयाँ वर्ष र क्रिसमस मनाउन कि थाइल्यान्डतिर जान्थे कि भारतको गोवातिर ।

यसपालिको महोत्सवमा नेपाली मौलिक विवाहको नमुना पनि महोत्सवमा प्रस्तृत हुँदै छ

Advertisement


गणेश युवा वयमा आफैं पर्यटक ज्यादा, व्यवसायी कम थिए । कहिले नेपालकै डाँडाकाँडा चहार्थे, कहिले विदेशतिर घुम्थे । ९० को दशकको मध्येपछिको एक वर्ष उनी भारतको गोवामा थिए । जहाँ उनले फुड एन्ड म्युजिक फेस्टिभल देखे । पोखरामा पनि केही गर्न पाए हुन्थ्यो भन्ने सोचिहाले । राजा वीरेन्द्र पोखरा आउँदा डिसेम्बरताका पर्यटकहरु नदेख्दा केही गतिविधि गर्नाेस् भनेर भट्टराईलाई सुझाएका पनि थिए ।


लेकसाइड मिनी फेस्टिभल भनेर २०५६ को पुसमा पहिलो फेस्टिभल सुरु भएको थियो । पछि रेबान स्ट्रिट फेस्टिभल नाम भयो । सातौं संस्करणदेखि पोखरा सडक महोत्सवका नाममा आयोजना हुन थालेको छ । सुरुमा गणेशबहादुर भट्टराईको अगुवाइमा पर्यटनकर्मी आफैं आफैंले ३ हजार, ५ हजार १० हजार र १५ हजारका दरले पैसा उठाएर फेस्टिभल आयोजना गरेका थिए ।


खासमा विदेशी पर्यटकलाई अड्याइराख्न र आकर्षित गर्न महोत्सव सुरु भएको थियो । तर पछिल्ला वर्ष त स्वदेशी पर्यटकले अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य पोखरा बनाइरहेका छन् । यो मौकामा पोखरा घुम्न आउनेले पहिल्यै होटल बुकिङ गर्नुपर्ने पनि हुन थालेको छ ।


यसपालि पोखरा सडक महोत्सवको २५ औं संस्करण हो । कोभिड लगायत प्रकोपपछि महोत्सवलाई निरन्तरता दिनु नै ठूलो उपलब्धि भएको आयोजक संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराका अध्यक्ष नरेश भट्टराई बताउँछन् । उनकै भनाइमा यसपालिको महोत्सवमा सिन्धुलीको नौमती, रुकुमको मयूर नृत्य डाकिएको छ । अर्काे रोचक पक्ष के भने नेपाली मौलिक विवाहको नमुना पनि महोत्सवमा प्रस्तृत हुँदै छ ।


महोत्सवका बेला लेकसाइडको ३ किलोमिटर लामो र पूरापुर दुई लेन फराकिलो सडक नै महोत्सवमय हुन्छ । जहाँबाट लेकसाइडको फस्ट स्ट्रिट (पहिलो गल्ली) सुरु हुन्छ, त्यहींको पोखरा सडकबाट महोत्सव सुरु हुन्छ । फिस्टेल गेटदेखि खहरेसम्मको ३ किलोमिटर पूरै सडकमा महोत्सव चल्छ । महोत्सव अवधिमा सडकमा मोटरसाइकल, कार, बस लगायत कुनै पनि सवारी साधन गुड्दैनन् ।


सडक पेटीमा ओर्लन्छन् रेस्टुरेन्टका किचन र कुर्ची टेबल । पहारिलो घाममा सडकमै खानपिन चल्छ । सांगीतिक कार्यक्रम पनि सडकका छेउछाउ वा बीचबीचका चौतारीहरुमा हुन्छन् । त्यसैले यो महोत्सवको नारै छ ‘सडकमै खाऊँ, सडकमै नाँचौं, सडकमै रमाऔं’ ।


वर्ष फरक हुन्छ । महिना र समय भने उही । महोत्सव डिसेम्बरको २८ देखि जनवरी १ सम्म हुन्छ । नेपाली पात्रोअनुसार पुसको १२ देखि १६ गतेसम्म परेको छ यसपालिको महोत्सव । यो अवधिको रौनक सडकमा मज्जाले लिन पाइन्छ । विदेशी पर्यटकमात्रै होइन, धेरै नेपालीलाई पोखरामा अंग्रेजी नयाँ वर्षमा रमाइलो हुन्छ भन्ने परिसकेको छ । त्यसको कारण यही सडक महोत्सव नै हो ।

तपाईको प्रतिक्रिया