नाटक ‘१२ दुर्वासा’ मञ्चन हुँदै

समाधान संवाददाता २०८० पुष १२ गते १२:१६

पोखरा ।
पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन गर्ने तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यहीं पुस २६ गतेबाट मञ्चन हुने नाटकको यति बेला धरिहर्सल भइरहेको हो । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् ।


परिवर्तनको निर्देशनमा तयार हुने नाटकमा १३ जना कलाकारले अभिनय गर्ने छन् । यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिँदै छ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोले दर्शकले नौलो अनुभवसमेत गर्न पाउनेछन् ।


‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र संर्घष नै नाटकको विषयवस्तु हो ।

Advertisement


सन् २०५४ मा टेलिप्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् ।


योे नाटकले वर्गीय, जातीय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गर्ने भएकाले यो नाटकले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ । नाटकलाई आर्कषक बनाउनका लागि रिहर्सल सुरु भएको निर्देशक परिवर्तनले बताए । यसअगाडि बितेका कुरा, निरमाया, बाकस, एक चिहान, कोही किन बर्बाद होस्, दुई नाटक लगायत निर्देशन गरिसकेका उनले यस नाटकलाई परिपक्व बनाउन मेहनत र तयारी टिममार्फत गहन ढंगले भइरहेको बताए ।

Advertisement


लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेको समयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनका लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको उनले खुलाए ।

‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन गर्न लागिएको हो, हुन त मैले विगत ५ वर्षदेखि नाटकको स्कृप्ट लिएर उपयुक्त समयको प्रतीक्षामा बसेको थिएँ, जुन समय अहिले निस्कियो’ उनले भने । नाटक १ घन्टा ३० मिनेट अवधिको छ । नाटक माघ १३ गतेसम्म मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।

तपाईको प्रतिक्रिया