किञ्जल्कलाई घरमै पुरस्कार

समाधान संवाददाता २०८० पुष १६ गते ११:११

पोखरा ।
साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’लाई लेखनाथ साहित्य पुरस्कारबाट सम्मान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ४० औं जन्मजयन्तीको अवसरमा आइतबार पोखरा महानगरका प्रमुख धनराज आचार्य, साहित्यकार सुरुभक्त लगायतले उनलाई सम्मान गरेका हुन् ।


पुरस्कार राशि नगद ५० हजार र सम्मानपत्र छ । १ सय ३ वर्षीय साहित्यकार किञ्जल्कलाई उनको घरमै पुगेर सम्मान गरिएको हो । उनका अनुदित कृति ७ र मौलिक कृति ३ गरी दश पुस्तक प्रकाशित छन् । पुरस्कृत व्यक्तित्व किञ्जल्कले शिरोमणिको संस्थाबाट सम्मानित हुन पाएकोमा ऊर्जा थपिएको जनाए । उनले देशको समृद्धि र वाङ्मयको विकासमा लाग्न आग्रहसमेत गरे ।


पोखरा महानगरका प्रमुख आचार्यले वाङ्मय सेवामा लाग्ने शताब्दी पुरुषलाई सम्मान गर्नु पाउनु विरल अवसर भएको उल्लेख गरे । ‘हाम्रा लागि यो विरल अवसर हो । म सबै पोखरेली र पोखरा महानगरको तर्फबाट उहाँलाई अभिनन्दन गर्दै उहाँको योगदानको सम्मान गर्दछु,’ आचार्यले भने ।

Advertisement


साहित्यकार सरुभक्तले निष्काम भावले लेखन र जीवन यापन गर्ने साहित्यकारका रुपमा किञ्जल्कको योगदानको चर्चा गरे । पूर्व गभर्नर डा विजयनाथ भट्टराईले लेखनाथ पौड्यालको स्मृतिमा देशैभर विभिन्न कार्यक्रम हुँदा नेपाली वाङ्मयको विकासमा सहयोग पुग्ने बताए ।


लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले कविशिरोमणिको स्मृतिमा संस्थाले २०५५ सालदेखि विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरे । उनले प्रतिष्ठानले बर्सेनि त्रिदिवसीय कार्यक्रम गरी लेखनाथ जयन्ती मनाउँदै आएको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया