अर्घाैं अर्चलेमा लेखनाथ जयन्तीः दीपक र भागिरथी पुरस्कृत

समाधान संवाददाता २०८० पुष १६ गते ११:३७

पोखरा ।
लेखनाथ जयन्तीको अवसरमा आइतबार पत्रकार दीपक परियार पुरस्कृत भएका छन् । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार परियारलालाई प्रदान गरिएको छ ।


पोखरा महानगरका मेयर धनराज आचार्यले ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रसहित परियारलाई पुरस्कृत गरे । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान गरेकोमा उनलाई पुरस्कृत गरिएको हो ।


परियार २०६४ देखि पत्रकारितामा सक्रिय छन् । लेखनाथ पत्रकारिता पुरस्कारबाट यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्त अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल र सरिता तिमिल्सेना सम्मानित भइसकेका छन् ।

Advertisement


कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय कार्यक्रम भएको छ । आइतबार विभिन्न संघ, संस्थाको सहभागितामा लेखनाथ जन्मस्थल पोखरा २७ अर्चलेमा भएको मूल समारोहमा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित कुन्तिदेवी पुरस्कार साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ ।


यस्तै, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालद्वारा आफ्ना बुवाको नाममा स्थापित पुरस्कार, मधुमाया ढकाल शिक्षा पुरस्कार, ढकालकी बहिनी अम्बिका ढकालद्वारा आमाका नाममा स्थापित फणीन्द्रकुमारी ढकाल शिक्षा पुरस्कार र जन्मजयन्तीको अवसरमा भएका कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरणसमेत गरिएको छ ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कविशिरोमणि पौड्यालको साहित्यिक योगदानले पोखराको गरिमा बढाएको जनाए । उनले चाडै पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने सुनाउँदै पोखरा साहित्य, कला, खेलकुद जस्ता धेरै क्षेत्रको समेत केन्द्र भएको जनाए ।


कार्यक्रममा पश्चिम पृतनाका पृतनापति सन्तोषबल्लभ पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष विनोद श्रेष्ठ, लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल, लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण तिमिल्सेना, सचिव तुलसी सापकोटा, प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेल, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ लगायतले बोलका थिए ।


कार्यक्रम लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया