पोखरा २८ मा अर्धनारीश्वर महादेश मन्दिर निर्माण गरिने

समाधान संवाददाता २०८० पुष १७ गते ९:१९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको चित्राकोटमा नेपालकै ठूलो अर्धनारीश्वर महादेशव मूर्ति स्थापना गरिने भएको छ । २२ से २४ से राजाले शासन गरेको ऐतिहासिक महत्व बोकेको चित्राकोटमा १ सय ८ फिट अग्लो मूर्ति निर्माण गर्न लागिएको हो ।


परापूर्वकालमा ऋषिहरुको तपोभूमि रहेको उक्त क्षेत्र ज्योतिषशास्त्र विशेष भूमि पनि हो । यस क्षेत्रमा कालभैरव, कालिका मन्दिर लगायत विभिन्न शक्तिपीठ पनि छन् । गहते दुरारुख सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको स्थानीय भेलामा सामाजिक अभियन्ता, तिमिल्सेना समाजका अध्यक्ष एवं अर्धनारिश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दीपक तिमिल्सेनाले अर्ध नारीश्वर महादेव मन्दिर निर्माणका लागि तयार पारिएको डिपिआर वडा नम्बर २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेलाई हस्तान्तरण गरे ।


गहते दुरारुख सामुदायिक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको सो क्षेत्रमा मूर्ति निर्माणसँगै आधुनिक सुविधा सम्पन्न गुरुकुल, बाल उद्यान, आधुनिक पार्क, भ्यू पोइन्ट, दुरा जातिको संग्रहालय निर्माणका साथै सो क्षेत्रको ब्युटिफिकेसनका लागि डिपिआरमा समावेश गरिएको छ । परियोजना निर्माणका लागि ७४ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

Advertisement

मूर्ति निर्माणसँगै गुरुकुल, बाल उद्यान, आधुनिक पार्क, भ्युप्वाइन्ट, दुरा जातिको संग्रहालय निर्माण गरिने


परियोजना निर्माण भएर सञ्चालनमा आएमा समग्र वडा नम्बर २८ मा पर्यटक आगमनमा वृद्धि भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् । वन उपभोक्ता समितिले परियोजना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराउने निर्णय गरेको छ ।

Advertisement


वडाको धार्मिक तथा पर्यटन विकासका लागि समाजसेवी तिलकशाली अधिकारीको संयोजकत्वमा नारीश्वर महादेव धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति गठन गरिएको छ । समितिको सह संयोजकमा हरी त्रिपाठी, सचिवमा राजेश घिमिरे, कोषाध्यक्षमा सरस्वती तिमिल्सेना, सदस्यहरुमा शुक्र अधिकारी, विष्णुहरी तिमिल्सेना, मुक्तिनाथ अधिकारी, विष्णुमाया पौडेल, विष्णु सुवेदी छन् ।


चित्राकोटबाट उत्तरतर्फ लहरै लागेका हिमशृंखला देख्न सकिन्छ भने दक्षिणतर्फ पोखरा लेखनाथ क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट कास्कीका सातवटै तालहरु देख्न सकिन्छ । सामुदायिक वनभित्र निर्मित संरचना पनि समुदायकै सम्पत्ति हुने भएकाले यस्लाई स्थानीय सहभागितामा वनाउन लागिएको परियोजनाका परिकल्पनाकार दीपक तिमिल्सेनाले बताए ।

अर्धनारीश्वर महादेवको मन्दिरमा गएर विवाहित दम्पतीले दर्शन गरेमा उनीहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाभित्र नयाँ पर्यटकीय गन्तव्य निर्माण कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे । पर्यटनका पूर्वाधार निर्माणले यस क्षेत्रकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले आफ्नो ठाउँको विकास स्थानीयकै अग्रसरतामा हुने भएकाले सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे ।


पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मल दियालीले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा चिनाउन सवैको उत्तिकै सहयोग रहने बताए । कार्यक्रममा शिक्षासेवी हरि त्रिपाठी, राजेश घिमिरे, भोलानाथ त्रिपाठी, विष्णु सुवेदी, वीरेन्द्र भण्डारी, शुक्र अधिकारी, शम्भुराम पाण्डे लगायतले परियोजनाको स्वागत गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया