हजार कृषि औजार एकै ठाउँ

समाधान संवाददाता २०८० पुष १७ गते ११:४५

पोखरा ।
गण्डकीको राजधानी पोखरामा प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २० देखि २२ गतेसम्म चल्ने प्रदर्शनीमा १ हजारभन्दा बढी प्रकारका कृषि सामग्री प्रदर्शनीमा राखिनेछ ।


नेपाल नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले प्रदर्शनी आयोजना गरेको हो । नामिया अध्यक्ष कृष्ण शर्माले पहिलोपटक प्रादेशिक स्तरमा पोखराबाट प्रदर्शनी सुरु गर्न लागिएको उल्लेख गरे । प्रदर्शनीमा कृषि औजार, प्रविधि र कृषिसँग सम्बन्धित कार्यालय, वित्तीय संस्थाहरु र बिमा कम्पनीका गरी ५८ स्टल रहने छन् । प्रदर्शनीबाट पाँच करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।


मेलाका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, कृषि विकास निर्देशनालय गण्डकी र पोखरा महानगरपालिकाले समेत सघाएका छन् । अध्यक्ष शर्माले कृषक उद्यमी, कृषि विज्ञ, विद्यार्थीसहित २० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने जानकारी दिए ।

Advertisement


प्रदर्शनीमा नेपालका रैथाने बालीहरु पनि राखिनेछ भने कृषि यन्त्र उत्पादक, नयाँ प्रविधि र कृषि क्षेत्रका चुनौती र अवसरबारे छलफलसमेत हुने तय छ । आधुनिक प्रविधि, कृषि औजार र सरकारी निकायका सेवाबारे जानकारी गराउने, नीति निर्माता र किसानलाई छलफल गराउने भएकाले मेला फलदायी हुने पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाको भनाइ छ ।


कृषिमा यान्त्रीकरणले उत्पादन लागत घटाउन र उत्पादकत्व बढाउनसमेत यसले सघाउने भएकाले मेला अवलोकन गरी लाभ लिन उनले अनुरोध गरे । ‘आफूलाई कस्ता सामग्री चाहिन्छ, कसरी प्रयोग गर्ने भन्ने थाहा पाउन पनि मेला उपयोगी हुनेछ,’ उनी भत्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया