बिमितले १० प्रतिशत खर्च तिर्नुपर्ने

समाधान संवाददाता २०८० पुष १७ गते १२:०६

काठमाडौं ।
स्वास्थ्य बिमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम बिमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएको हो ।


स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिए । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बिमितलाई १ लाख बराबरको उपचार खर्च बिमा बोर्डले व्यहोर्ने गर्दछ ।


उनले अनावश्यक स्वास्थ्य परीक्षण कम गराउन सहभुक्तानी प्रणाली लागू गरिएको उल्लेख गरे । ‘बिमितले अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गराउन थाले’, उनी भन्छन्, ‘त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।’सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागु हुनेछ ।

Advertisement


प्राथमिक स्वास्थ्य केन्द्र र २५ श्ययासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बिमितले १० प्रतिशत रकम तिर्न नपर्ने उनको भनाइ छ । सहभुक्तानी प्रणाली संघीय अस्पताल, २५ श्ययाभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागू हुनेछ ।


गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी संक्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिर्नु नपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ । बोर्डमा हालसम्म ७४ लाख बिमित भइसके पनि ४७ लाखमात्र सक्रिय छन् ।

Advertisement


विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बिमा बोर्डबाट १ लाखसम्मको बिमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् ।

तपाईको प्रतिक्रिया