गतवर्ष मुस्ताङमा ९० हजार विदेशी पर्यटक भित्रिए

सुन्दरकुमार थकाली २०८० पुष १८ गते ९:३२

जोमसोम ।
सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्ममा ९० हजार ३४६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । सन् २०२२ मा ६५ हजार ९४० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकोमा सन् २०२३ मा २४ हजार ४०६ जना पर्यटकको संख्या वृद्धि भएको हो ।


सन् २०२२ को तुलनामा यस वर्ष २७ प्रतिशत पर्यटक वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । कोरोना कहरको जोखिम अन्त्य भएको र मुस्ताङको पर्यटक चलायमान हुँदै जान थालेपछि मुस्ताङको भ्रमण गर्ने पर्यटकले नयाँ कीर्तिमानी रेकर्डसमेत कायम गरेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । यसवर्ष अन्तर्राष्ट्रिय अमेरिकी सञ्चार संस्था सिएनएनले घुम्नै पर्ने सूचीका रुपमा मुस्ताङ उपत्यकालाई सूचीकृत गरेकाले समेत मुस्ताङमा उल्लेख्य संख्यामा पर्यटक आवागमन बढेको हो ।


सन् २०२३ मा ९० हजार ३४६ जनाले विदेशी पर्यटकले भ्रमण गर्दा ७२ हजार ८५ जना सार्क राष्ट्र र १७ हजार ६७२ जना तेस्रो मुलुकका फरेनर विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् । उक्त तथ्यांकमा समावेश नभएको थप ५८९ जना पर्यटक डिसेम्बरमा थपिएको एक्यापले जनाएको छ ।

Advertisement


सन् २०२३ मा मनाङ हुँदै राउन्ड अन्नपूर्ण चक्रीय (राउन्ड)पदमार्गबाट मुस्ताङ भित्रिने पर्यटकको संख्या १० हजार ७२३ जना छ । राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ भित्रिनेमा ९ हजार ६०७ जना फरेनर तेस्रो मुलुक र ६ सय २७ जना सार्क राष्ट्रका विदेशी पर्यटक छन् । राउन्ड अन्नपूर्ण पदमार्ग गर्नेमा अधिकांश तेस्रो मुलुकमा विदेशी पर्यटक छन् ।

मुस्ताङ भ्रमण गर्ने क्रममा सन् २०२३ को बाह्र महिनामा पर्यटक अनुमती पत्र (परमिट ) नलिई आएका विदेशी पर्यटकको संख्या ५ हजार ८४० जना छ ।

Advertisement

सन् २०२२ मा ४६ हजार ७२४ जना सार्क र १९ हजार २०६ जना तेश्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । त्यसअघि सन् २०२१ मा जम्मा २ हजार ३ सय पर्यटकले मात्रै मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।
राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मुस्ताङ भित्रिनेमा सन् २०२२ र २०२३ को पर्यटकीय तथ्यांक लगभग उस्तै छ ।
राउण्ड अन्नपूर्ण पदमार्ग गर्नेमा अधिकाँश त्श्रो मुलुकमा विदेशी पर्यटक छन् ।


तर, गतवर्षको तुलनामा मुस्ताङ भ्रमण गर्नेको तथ्यांकमा नयाँ उभार आएको हो ।मुस्ताङका आएका पर्यटकले मुक्तिनाथ कागबेनी आसपासको क्षेत्रको अवलोकन गरी फर्किने गरेका छन् । चर्को पर्यटन रोयल्टी शुल्कका कारण मुस्ताङ भ्रमण गर्ने मध्येका औसत १० प्रतिशत विदेश पर्यटक मात्र उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया