मित्रमिलन सहकारी प्रकरण: रमण र किरण थुनामा

समाधान संवाददाता २०८० पुष २३ गते १०:३९

पोखरा ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल र कार्यकारी अधिकृत किरण अधिकारीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । आइतबार न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले आइतबार दुवैलाई धुनामा पठाउन आदेश दिएको हो ।


दुवैअघि नै बैंकिङ कसुर मुद्दामा थुनामा थिए । यो सहकारी ठगीमा यसअघि नै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । अदालतले अघिल्लो मंगलबार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पठाउने आदेश दिएको थियो ।


सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रारसमेत रहेका पराजुलीमाथि मित्रमिलनको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घूस लिएको आरोप छ । पराजुली पुस ११ गते कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । स्याङ्जाका बुद्धिसागर पौडेल मंसिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेको थियो । त्यसअघि नै पोखरा २५ का राजु बराललाई समेत पक्राउ परेका थिए ।

Advertisement


कास्की प्रहरीले मंसिर १९ गते सूचना जारी गर्दै सहकारी पीडित बचतकर्तालाई जाहेरी दरखास्त दिन आह्वान गरेको थियो । उक्त सूचनापछि ३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको भन्दै जाहेरी दिएका छन् । प्रहरीले पक्राउ पुर्जी जारी भएका ३३ मध्ये ५ जनालाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा आइतबार प्रतिवेदन बुझाएको छ । सहकारीको वित्तीय विवरणसम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको खुलेको छ ।


तर, प्रहरीले उनीहरुलाई ३१ करोड बिगो दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बाँकी अभियुक्तहरु फरार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया