मुस्ताङमा ८७५ जनालाई ई—पासपोर्ट

सुन्दरकुमार थकाली २०८० पुष २७ गते ६:२६

जोमसोम ।
मुस्ताङमा ९ जना नागरिकले राष्ट्रिय परिचयपत्र कार्ड पाएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको राष्ट्रिय परिचयपत्र शाखामा दर्ता भएका कुल ७ हजार १२३ आवेदनमध्ये ९ जनाले राष्ट्रिय परिचयपत्र पाएका हुन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले चालु वर्षको पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।


राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र वितरण कार्यविधि २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय मुस्ताङमा २०७७ साल साउन २८ गतेदेखि विवरण दर्ता प्रक्रिया अघि बढाएको थियो । मुस्ताङमा दर्ता गरिएका राष्ट्रिय परिचयपत्र विवरणमध्ये हालसम्म ३ हजार ५६५ जनाको परिचयपत्र कार्ड प्रिन्ट भई जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।


राष्ट्रिय परिचयपत्र मुस्ताङमा आइसके पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग वेबसाइटमा प्राविधिक समस्या आउँदा र आवेदन दिएका व्यक्तिको मोबाइल म्यासेजमा नपुग्दा राष्ट्रिय परिचयपत्र वितरण गर्न नसकिएको प्रजिअ पन्तले उल्लेख गरे ।
पछिल्लो समय ई—पासपोर्ट निकाल्न तथा स्थानीय तहबाट उपलब्ध हुने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक पर्ने भएकाले राष्ट्रिय परिचयपत्र दर्ता गर्नेको संख्या वृद्धि भइरहेको बताइएको छ ।

Advertisement


हिउँदयामको पुस महिनामा समेत दैनिक ४० देखि ५० जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गर्न आउने गरेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर बुद्धिरत्न थकालीले जानकारी दिए । शाखामा आधा जसोको कार्ड आइसकेको भए पनि मोबाइल म्यासेज बक्समा प्रवाह गरिने सूचनामा प्राविधिक समस्या आएको बताए ।


सरकारले हरेक नागरिकको जैविक तथा व्यक्तिगत विवरण सुरक्षित भण्डार गर्दै सरकारी तथा गैरसरकारी सेवाप्रदायक संघसंस्थाको कामकाजलाई चुस्त÷दुरुस्त राख्न राष्ट्रिय परिचयपत्र वितरण अभियान थालिएको हो ।

Advertisement


सरकारले १६ वर्ष पुगेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने मापदण्ड तोकेको छ । वितरण गर्ने कार्डमा नागरिकलाई नदोहोरिने गरी युनिक कोर्ड दिइन्छ । जुन कोर्ड पञ्जीकरण विभागको केन्द्रमा सुरक्षित रहनेछ । परिचयपत्रको जैविक विवरणमा व्यक्तिको १० वटै औंलाको औंठा छाप र तस्बिर राखिने छ । व्यक्तिगत विवरणमा नामथर, वर्ण, उमेर, लिंग, ठेगाना, जन्म मिति, पतिपत्नीको नामथर र प्रमाणपत्र नम्बर हुनेछ ।


मुस्ताङमा आर्थिक वर्ष २०७९ साल जेठ २७ गतेदेखि विद्युतीय राहदानी (ई—पासपोर्ट वितरण सुरु गरिएको हो । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले ई—पासपोर्टका लागि मुस्ताङबाट ९६८ जनाले सिफारिस गरेका थिए ।


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका कम्प्युटर अपरेटर थकालीले विद्युतीय राहदानी ई—पासपोर्टका लागि सिफारिस भएकामध्ये ८७५ जनालाई ई—पासपोर्ट वितरण गरिएको जानकारी दिए । उनका अनुसार विभागबाट ई—पासपोर्ट प्रिन्ट भई वितरण गर्न बाँकी ४१ जना रहेको र ५० जनाको प्रिन्ट भई विभागबाट आउन बाँकी छ । उनले दैनिक ५० जनाले ई—पासपोर्टका लागि प्रक्रिया अघि बढाउन आउने गरेको उल्लेख गरे ।


जिल्ला प्रशासन कार्यालय मुस्ताङले आर्थिक वर्ष २०७९/०८० मा २६० जनालाई नयाँ नागरिकता वितरण गरेको छ । सो वर्ष नागरिकताको प्रतिलिपि २६७ जनालाई र २२ जनालाई नाबालक परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३६३ जनालाई नयाँ नागरिकता, २१५ जनालाई प्रतिलिपि र २६ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया