सन्दीप र नेपाली समाज

डा सञ्जय कोइराला २०८० पुष २९ गते १२:११

पुस महिनाको यो जाडोमा पनि अनवरत रुपमा बिहानीको चिसोमा नियमित दौड लगाइरहेको मेरो यो अधबैंसे शरीरलाई आज सायद बल्ल थकानको महसुस भएको रहेछ । बुढापाकाको भनाइमा चिसोभित्रै गढेको जस्तो छ । ज्वरोले शारीरिक रुपमा थकित भइरहदा देशमा हालै घटेका विभिन्न घटनाका बारेमा सामाजिक सञ्जालमा देखिएका हामी नेपालीको मानसिकताले झनै बढी यो मानसपटल विक्षिप्त छ । मध्यरातमा निद्राले पनि सहानुभूति नराखेको अवस्थामा मनमा लागेका केही कुरा कोरिहल्न मन लाग्यो ।


हामी के हौँ ? हाम्रो समाज कस्तो हो ? हामीलाई कुन दर्शनले प्रेरित गर्छ ? शायद अब यी कुरा कुनै इतिहासकार, साहित्यकार या कुनै शिक्षकको कक्षामा मात्रै सीमित भइसकेको भान हुँदै छ । हामी अब केवल जिउनका लागि मात्रै बाँचिरहेका छौँ जस्तो लाग्दै छ । व्यक्तिवादको पक्ष पोषणमा हामी यति गहिरो छलांग लगाएका छौँ कि सायद अब हाम्रो पूर्वीय दर्शनको समाजवाद कम्युनिस्टहरुको समाजवादमा सीमित भइसकेको छ, मात्र चुनावी कागजमा सीमित !


कुरा सुरु गरौँ समकालीन नेपाली क्रिकेटका उदीयमान खेलाडी सन्दीप लामिछानेबाट । उनका विपक्षमा आएको काठमाडौं जिल्ला अदालतको सजायको पूर्णपाठले अहिले सामाजिक सञ्जाल यो पुस महिनाको चिसोमा पनि यति धेरै तातेको छ कि यसले नेपाली समाजलाई दुई ध्रुवमा विभाजित गर्दै छ । सन्दीप विरुद्ध अन्याय भएको भनी जसरी सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छन्, गौशाला २६ ले न्याय पाइन्, सन्दीप दोषी नै हो भन्ने आवाजहरु पनि उतिकै उठिरहेका छन् ।

Advertisement


भलै दुवै पक्ष यो फैसलाबाट सन्तुष्ट नभएको र पुनरावेदनमा जाने भनेर बिभिन्न सञ्चार मध्यमहरुले भनिरहेका छन्, बालिग बनाइएको भनेर गौशाला पक्ष असन्तुष्ट छ भने निर्दोष रहेको सन्दीप पक्षको जिकिर पुनः उच्च अदालतमा पुनरावेदन हुने सम्भावना उत्तिकै छ । यहाँ मेरो उद्देश्य न्यायालयको फैसलाको पक्ष या विपक्षमा हुँदै होइन, सम्मानित अदालतले दिएको निर्णय आत्मसात गर्नु हरेक नेपालीको कर्तव्य यो । अझै चित्त नबुझे पुनरावेदन गर्ने अधिकार स्वयम् त्यही न्यायालयले दिएको छ ।
यहाँ त हामी नेपाली आफैं आफैं स्वघोषित न्यायाधीश भएर दुई, चार कुरा सुनेको भरमै यो घटनालाई विभिन्न रुपले षड्यन्त्रको बिल्लासमेत भिराइरहेको देख्दा उदेक लागेर आउँछ । सबैका आ–आफ्नै सिद्दान्त छन्, भारतको षड्यन्त्रसम्म भन्न भ्याइसकेको अवस्था छ ।


न्यायालयमा बसेका न्यायमुर्तिहरुको क्षमता आफ्नो भन्दा निकृष्ट रहेको भन्ने जुन भावना नेपाली समाजले देखाइरहेको छ, यो मानसिकता निकै खतरनाक देख्छु म । त्यत्तिका विज्ञहरुको बहस सुनेर कानुनका दफा दफा केलाएर आफ्नो छविलाई नै दाउमा राखी यति ठूलो बिषयमा ढिलै भए पनि निर्णय सुनाउनु आफैंमा एउटा सराहनीय कार्य हो । यो निर्णयले आफ्नो व्यक्तिगत छविमा कत्तिको असर पर्छ भन्ने जानेरै पनि बारम्बार कुनै न कुनै बहानामा सारिएको यो मुद्दाको आज एक हदसम्म टुंगो लगाउनु कानुनी राज्यको पालना हो ।

Advertisement

यो पुरुषप्रधान समाजको मानसिकता हो, जो दोहोरो न्यायको परिभाषाबाट कोसौं पर देखिन्छ


यसमा हामीले शंका, उपशंका गर्नु भनेको स्वयम् आफैंलाई सर्वोपरी ठान्नु शिवाय केही होइन । अझ गहिरिएर भन्नु पर्दा यो कानुनी राज्यको अवहेलना हुन जान्छ । कुनै समय अघिसम्म गुपचूप जस्तो रुपमा हुने जिल्ला अदालतका निर्णयहरु पुनरावेदन भएर नउल्टिएका हैनन्, तर राज्यका लागि यति संवेदनशील मुद्दामा अहिलेको विज्ञ समाजमा यस्तो हुने सम्भावना म एकदमै न्यून देख्छु । म देशको नागरिक हुँ र म न्यायालयको सम्मान गर्छु ।


सन्दीपलाई निर्दोष, महिलालाई उच्शृंखल भन्ने हाम्रो नेपाली समाजले पूर्वीय दर्शन छोडेर पश्चिमा दर्शनमा छलाङ मार्न खोजेको अनुभूति मलाई भइरहेको छ । अहिले हाम्रो नेपाली समाज आफ्नो इतिहास, कला, दर्शन सबै छोडेर क्षणिक रुपमा चम्किलो देखिएको पाश्चात्य समाजको व्यक्तिवादी दर्शनमा रमाउन यति उद्दत छ कि मौका पाए देशका अधिकांश जनशक्ति उतै पलायन हुने निश्चित प्रायः छ । यसो हुनुमा हाम्रो देशको प्रणालीमात्रै दोषी होइन, हाम्रो मानसिकता पनि उत्तिकै जिम्मेवार छ ।


हामीले खुसी मात्रै सम्पत्ति कमाउने र रमाउने, मिठो खाने, घुम्ने, कसैको परिबन्धमा नबस्ने नितान्त व्यक्तिगत स्वार्थ पूर्तिमा देखेका छौँ, जुन पश्चिमा दर्शनको उपज हो । सुख बाहिर खोजेर पाइने कुरा हैन, यो त आफैंभित्र लुकेर रहेको छ र यसलाई प्राप्त गर्न हाम्रो दर्शन पर्याप्त छ, भागवत गीता पर्याप्त छ । यस्तो कुरा कसले बुझ्न चाहने ? कसलाई पो अहिले यहाँ फुर्सद छ र दर्शनमा भुल्ने ?


जे देखिएको छ, त्यही नै सर्वोपरी छ हाम्रा लागि । विदेशमा बसेर राम्रो लुगा लगाएको, विभिन्न ठाउँ घुमेको, मज्जाले सम्पति जोडेको देखेको यो समाजले अरु के सोचोस् पनि ! यहाँ सन्दीपप्रति सहानुभूति राख्ने जमातले गौशाला २६ ले भोगेको सामाजिक लान्छनाको कुनै पनि ख्याल गरेको देखिन्न । एउटी नारी त्यो पनि बालिग नै नभईसकेकी भन्ने कुरा पनि छ, उसलाई दोष दिने समाजले देशको गरिमा बढाइरहेको व्यक्तिलाई त्यसो गरिनु हुन्नथ्यो, यो देशबिरुद्ध षड्यन्त्र हो भनेर भनिरहँदा एउटा व्यक्ति देश हुन सक्दैन त्यो पनि उमेरले परिपक्व भएको देशलाई प्रतिनिधित्व गरेको पात्रले देशको लागि खेल्न विदेश जानु भन्दा अघि क्लोज क्याम्पबाट लुकेर बाहिर भागेर आफ्नो एक प्रशंसकलाई रातको समयमा घुम्न लगेर होटेलमा बसेर कुनै न कुनै प्रलोभनमा पारेर शारीरिक सम्बन्ध राख्नु के उचित हो त ?


भलै, उक्त समयमा दुबैले राजीखुसीमै सम्बन्ध राखेका होलान् । तर, हाम्रो समाजले नारीलाई खुलारुपमा विवाहपूर्व सम्बन्ध राख्न अझै पनि दिएको छैन र हामीमध्ये अधिकांशले त्यसो होस् भन्ने पनि चाहँदैनौं । सो कुराको हेक्का पकै उनीमा पनि हुनु पर्छ । कुनै न कुनै प्रलोभनमा नपरी आफ्नो अस्मिता खुलमखुला रुपमा उनले सन्दीपलाई सुम्पेकी अवश्य हैनन् । विवाहको आश्वासन पाएर भविष्यको सुमधुर सपना देखेरमात्रै उक्त सम्बन्ध स्थापित भएको हुनुपर्ने मेरो ठम्याई हो ।


उक्त घटनापश्चात सन्दीपले उनलाई बिहे गर्ने आश्वासनसहित उनीसँग कुनै न कुनै माध्यमले सम्पर्क राखेको भए त उनी यसरि आफ्नो भविष्य नै दाउमा राखेर न्यायालय घच्घच्याउने पक्कै पनि थिइनन् होला । यहाँ नारीको चरित्रमा औंला ठड्याई रहँदा यो समाजले यस्तो मामिलामा पुरुष या नारी कसलाई बढी अप्ठेरो पर्छ भन्ने सामान्य हेक्का पनि राखेको मैले देखिनँ । यो पुरुषप्रधान समाजको मानसिकता हो, जुन कुरा दोहोरो न्यायको परिभाषाबाट कोसौं पर देखिन्छ ।


हाम्रो समाज बत्तीको उज्यालोपछि मात्रै कुदिरहेको छ । अन्धकार कसरी हटाउने भन्ने सोचाइ कसैमा देखिन्न । अबको बहस नैतिकता र कानुनी राज्यको बिषयमा हुनुपर्छ । सन्दीपले प्रख्याति कमाएको भरमा सहानुभूति पाउने, नैतिकता देखाउनु नपर्ने, महिलालाई सोझै लान्छना लगाउने यो समाजले चाहेको कस्तो दर्शन हो ? पाश्चात्य या आफ्नै मौलिक पूर्वीय दर्शन, गहिरिएर विचार गर्नुपर्ने बेला भएको छ ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया