नेपाली सिनेमाको अन्तरकुन्तर

‘चलचित्र विकास बोर्डमा कहाँ हराए भुवन केसी ?’

सञ्जय रानाभाट २०८० माघ ८ गते १२:४६

सञ्जय रानाभाट, पोखरा ।
‘जीवनको ५० वर्ष चलचित्र र कलारिता क्षेत्रमा बिताइसकेँ । चलचित्र र स्पोर्टस् बिना राष्ट्र चिनाउन भनेको अँध्यारो गुफामा मैनबत्ती लिएर छिर्नु हो । यसैकारण पनि म चलचित्र बोर्डमा गएर काम गर्न चाहन्थेँ । त्यहाँबाट नेपाली चलचित्रका बारेमा काम गर्न सकौं, नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाऊँ,’ कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने, ‘तर यस्तो रैछ । जब बोर्डको अध्यक्ष भएँ । अनि थाहा भयो, चलचित्र बोर्ड सञ्चार मन्त्रालयमा हराएको रैछ । जबसम्म चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन । तबसम्म चलचित्र क्षेत्रको विकास हुँदैन ।’


केसी आइतबार चलचित्र पत्रकार संघ कास्कीले सिक्लेस गाउँमा आयोजना गरेको सरकार र सिनेमाः हिजो, आज र भोलि शीर्षकमा सिनेका संवाद कार्यक्रममा बोल्दै थिए । केसीले नेपाली चलचित्र सम्बन्धी सरकारले नयाँ ऐन बनाउन अनकनाइरहेको सुनाए । उनले अहिले पनि नेपालमा चलचित्र ऐन २०२६ सालको ऐनबाट विकास बोर्ड सञ्चालन हुनुपर्दा सिने क्षेत्रमा काम गर्न नसकेको स्वीकारे । ‘मैले सिनेमामा काम गर्न थाल्दा ब्ल्याक एन्ड ह्वाइटमा हेर्थे फिल्म, अहिले कलर आइसक्यो, तर नयाँ ऐन अहिलेसम्म पास हुन सकेको छैन,’ केसीले भने ।


सिनेमा संवादमा केसीसँग वक्ता थिए, निर्माता संघका निर्वतमान अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा कलाकार दीपाश्री निरौला । नेपाली सिनेमा किन सुध्रेन र विश्वसनीय भएन भन्दै प्रश्न तेस्र्याइरहेको थिए, सञ्चारकर्मी प्रकाश सुवेदी ।
कहाँ रुमल्लिएको छ, चलचित्र विकास बोर्ड ? प्रत्येक हप्ता कार्यक्रममार्फत भनिरेहको हुन्छु ? तपाईंबाट ठूलो आश थियो, विगतको अध्यक्षभन्दा झन् कमजोर देखियो,’ प्रकाश सुवेदीले विकास बोर्डका अध्यक्ष केसीतर्फ प्रश्न तेस्र्याए । केसीले आफूले काम गर्न गएको भएपनि समयानुकुल नीति नियम कानुन नहुँदा काम गर्न नसकेको जवाफ दिए !

Advertisement


चलचित्रको विकासमा केही गर्न सकिने भने ६ महिनाभित्र राजीनामा दिन्छु भन्नुभएको थियो । तर, अहिलेसम्म कुर्सीमा टाँसिरहनु भएको छ नि, सुवेदीले फेरि केसीलाई प्रश्न ठड्याए । ‘कसैले १ वर्षभित्र बोर्ड स्वायत्त बनाउँछु भनेर आयो भने म अहिले नै राजीनामा दिन्छु । जागिर खान बसेको होइन । तर अहिले यो अवस्थामा जो कोही गएर पनि काम गर्न सक्ने अवस्था छैन । म नयाँ ऐन ल्याउन सकिन्छ कि भनेर नै म त्यहाँ बसिरहेको छु,’ केसीले जवाफ फर्काए ।


दीपाश्री निरौलाले उत्तर दिन छाडेर बोर्ड अध्यक्ष केसीतर्फ प्रश्नै प्रश्न बर्साइन्—भुवन दाइ सिनेमा क्षेत्रलाई विकासका गर्न तपाईं कहाँ अड्किनुभयो । तपाईंलाई कसले छेक्यो ?

Advertisement


‘सानैदेखि मन पराएको हिरो, आज चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा पाएका छौं । सरकारले वास्तवमा भन्ने हो भने प्राथमिकतामै राखेको छैन । चलचित्र भन्नेबित्तिकै रमाइलाका लागि हो भन्ने टिप्पणी छ । सरकारले प्राथमिकताको रुपमा नेपाली फिल्मलाई राख्नुपर्छ,’ निरौलाले भनिन्, ‘इण्डिया, चाइनामा कलाकार उभिने बित्तिकै अर्कै फिल महसुस हुन्छ । नेपालमा त्यस्तो अवस्था छैन । जति हामीले सिकेका थियौं, त्यत्ति नै गरेर फिल्म बनाएका हौँ । तसर्थ हामी खुम्चिन बाध्य छौं । मेरो प्राथमिकता चलचित्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने नै हो ।’


चलचित्र उद्योगलाई उद्योगमात्र ठानेर यसलाई सशक्त माध्यमको रुपमा सरकारले अघि बढाउनुपर्ने निर्माता संघका पूर्व अध्यक्ष अधिकारीले बताए । उनले सरकारले मात्र केही गरेन भन्नु पनि गलत भएको भनाइ राखे । त्यसका लागि कलाकर्मीहरु पनि जागुरुक हुनुपर्ने उनको राय थियो । ‘फिल्मबाट ट्याक्स नै उठ्दैन भन्ने राज्यको दृष्टिकोण छ । राज्यको निकायको आँखा खुलेको छैन ।

चलचित्र विकास बोर्डले आफ्नो भवन निर्माण गरेर विकास गर्‍यो, अरु विकास खै ? बोर्डले समग्र फिल्म क्षेत्रलाई समेटेरर प्रमाणित गरोस् भन्ने आशा भुवन दाइबाट अपेक्षा छ,’ घुमाउरो तरिकाले उनको प्रश्न पनि अध्यक्ष केसीतर्फ सोझियो ।
जवाफमा केसीले सिनेमाकर्मीहरु एकजुट नभएकै कारणले यस्तो अवस्था आएको बताए । उनले सिनेमा क्षेत्रका बारेमा आवाज बुलन्द पर्न नसकेको स्वीकारे । उनले भने, ‘यसका लागि हामी सबै एकजुट हुनुपर्छ । कलाकारलाई नै सरकारमा पु¥याउन सक्यौं भनेमात्र चलचित्रका क्षेत्रमा बजेट विनियाजन हुने र काम गर्न सकिन्छ ।’


नेपालमा सेन्सर बोर्डको समस्या रहेको सञ्चारकर्मी सुवेदीको भनाइ थियो । उनले सोधे, ‘नेपालमा २५ देखि ३० हजारमा सेन्सर हुन्छ तर भारतमा समस्या भारतमा नेपाली फिल्मीले दुख पाउँछन् । जबकी हिन्दी फिल्म सजिलै यहाँ रातारात पुगेर सेन्सर गर्छौं । यो विभेद किन ? सेन्सर बोर्ड र विकास बोर्ड फरक भएको केसीले जवाफ दिए । उनले दुवै सञ्चार मन्त्रालयअन्तर्गत भए पनि विकास बोर्ड अन्तर्गत सेन्सर नपर्ने गरेको सुनाए । ‘सेन्सर बोर्ड चलचित्र विकास बोर्ड पनि हामी मातहत दिनुहोस् भनेका छौं । त्यसका लागि हामी मन्त्रालयमा लेखेर पठाएका छौं,’ केसीले भने, ‘बोर्ड अन्तर्गत नहुँदा काम गर्न पनि असजिलो भएकाले छिट्टो भन्दा छिट्टो सेन्सरबार्ड विकास बोर्ड अन्तर्गत आउनुपर्ने मेरो माग छ ।’


आइतबार नै चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा गुरुङ समुदायको ऐतिहासिक रमणीय पर्यटकीय गाउँका रुपमा परिचित सिक्लेस गाउँमा अर्को संवाद नेपाली सिनेमाको स्वादबारे भएको थियो । दिया मास्के, अनुप बराल र मनोज पण्डित सेसनमा थिए, सहजीकरण सुरज सुवेदीले गरे । सिनेमा स्वःकथन मा प्रकाश सायमीले आफ्ना विचार राखेका थिए ।


यस्तै सिनेमा अनुभवबारे भुवन केसी र गौरी मल्लले आफ्ना विचार राखेका थिए । सञ्जोग बस्यालले उक्त सेसन सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले चलचित्रमार्फत आपसी सदभावसँगै पर्यटन प्रवद्र्धन गर्न सिक्लेस गाउँ आइपुगेको बताए । उनले खेती किसानी र वैदेशिक रोजगारीलाई मुख्य आयस्रोत मान्दै आएको सिक्लेस पछिल्ला दिनमा पर्यटकीय केन्द्रका रुपमा स्थापित भएकाले नेपाली सिनेमाका हस्तिहरुलाई सिक्लेस ल्याउँदा खुसी लागेको बताए । उनले चलचित्र पत्रकार संघ कास्कीले सिने क्षेत्रको विकासका लागि सधैं कलम चलाइरहेको र चलाइरहने बताए । कार्यक्रम सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया