पोखरेलीको धारामा चाँडै सफा पानी

फडिन्द्र अकिञ्चन २०८० माघ १० गते १०:५९

पोखरा ।
करिब १२ किलोमिटर टाढाको मर्दीखोलाको पानी सिधै धारामा आउथ्यो । हिलो, फोहोरसमेत नछानी आएको खानेपानीबारे पोखरेली बारम्बार गुनासो गर्थे । देशकै ठूलो महानगरबासीको यो समस्या सुल्झाउन सञ्चालन भएको पोखरा खानेपानी सुधार आयोजनाको काम ९५ प्रतिशत सकिएको छ ।


चाडै पोखरेलीको धाराबाट पहिलेभन्दा सफा पानी झर्ने पक्का भएको छ । करिब साढे ४ अर्ब लागतको यो खानेपानी आयोजना मेलम्चीपछि देशको दोस्रो ठूलो हो । आयोजनाले पानीको चुहावट घटाउने, आपूर्तिको प्रेसर व्यवस्थापन, आम्दानी नहुने पानीको अनुपात घटाउने, संकलन बढाउने र आपूर्ति प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।


मर्दीमा प्रशोधन प्लान्ट बनेपछि पोखरामा आउने पानीमा पहिलेभन्दा ८० प्रतिशत हिलो, माटो कम भइसकेको बताउँछन् आयोजना प्रमुख इन्जिनियर आशीष कार्की । गएको डिसेम्बरसम्म म्याद रहेको आयोजनाको अवधि ६ महिना थपिँदै छ । थपिने समयभित्रैसबै काम सकिने कार्कीको भनाइ छ ।

Advertisement


‘सामान आउनेबित्तिकै १०/१५ दिनमै काम सकिने अवस्था छ । करिब २ किमी पाइपलाइन विस्तार, रोड काटिएका ठाउँमा पिच गर्न बाँकी छ,’ उनी भन्छन् । आयोजना बनिसकेपछि ६ महिना परीक्षण गरिनेछ, परीक्षणपछि आयोजना खानेपानी संस्थान पोखरा शाखालाई हस्तान्तरण हुनेछ ।

साढे चार अर्बको खानेपानी योजनाबाट चार लाख उपभोक्तालाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य

Advertisement


खानेपानी भण्डारण गर्न २० लाख लिटरका ३ वटा ट्यांकी निर्माण गर्ने योजना थियो । फूलबारी र पस्र्याङमा ठूला टंकी बनिसकेका छन् भने कोलपाटनमा बन्दै गरेको टंकीको काम भने रोकिएको छ । यो टंकी नबन्दा पोखराका ४ वडाको खानेपानी वितरण प्रभावित हुने जोखिम छ ।


खानेपानी संस्थानको सन् २०२३ को वार्षिक प्रतिवेदनले २०२५ भित्रै दैनिक साढे ४ करोड लिटर पानी पोखरा उपत्यकामा वितरण गर्ने उल्लेख गरेको छ । यसका लागि मुख्य र भित्री सडकमा गरी १ सय ११ किलोमिटर लामो पाइपलाइन विस्तार भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)ले नेपाल सरकारलाई अनुदानमा बनाइदिएको यो आयोजनाको रकम खानेपानी संस्थानले भने ऋणका रुपमा सरकारलाई तिनुपर्छ ।


०७६ जेठ २८ मा शिलान्याश भएको यो आयोजना ३ वर्षमा सक्ने लक्ष्य राखिएको थियो । यसमै काम नहुँदा यसअघि नै आयोजनाको म्याद १८ महिना थप भइसकेको छ । यसपालि थपिएको ६ महिनाभित्रैमा काम सकिएमा आयोजना ५ वर्षमा तयार हुनेछ ।


प्रशोधन प्लान्ट निर्माण, वितरण प्रणाली सुधार, चुहावट नियन्त्रमा ध्यान दिइए पनि मुहान संरक्षणका लागि काम अझै भएको छैन । मर्दीको खानेपानी मुहानभन्दा माथि अहिले पनि खोलाबाटै गाडी वारपार गर्छन् । गाईवस्तु आहाल बस्ने, फोहोरसमेत फाल्ने गरिएको यो क्षेत्रमा हिउँदमा नदीजन्य पदार्थ उत्खनन्समेत हुन्छ ।


खानेपानीको गुणस्तर सुधार्न मुहान सार्न, आवश्यक सुरक्षाका उपाय अपनाउन सरोकारवालाले आवाज उठाइरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा छ स्थानमा शवदहन स्थल बनाएपछि खोलैमा शवदहन भने रोकिएको छ । संघबाट यसको नेतृत्व गरेका यदुनाथ अधिकारी खानेपानीको मुहान बस्तीबाट माथि नसार्दासम्म सफा पानी आपूर्ति हुने अवस्था नरहेको औंल्याउँछन् । यता, मुहान रहेको स्थानको माछापुच्छ्रे गाउँपालिकाले पानी प्रयोगवापत निश्चित राजस्व पाउनुपर्ने माग राख्दै आएको छ ।


योजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानको दाबी छ । अर्थ मन्त्रालय र जाइकाबिच २०७४ फागुन ४ गते पोखरा खानेपानी सुधार आयोजना निर्माण गर्ने अनुदान सम्झौता भएको थियो ।

फडिन्द्र अकिञ्चन

अकिञ्चन समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया