राष्ट्रिय वाणिज्य बैंकको स्थापना दिवसमा सम्मान

समाधान संवाददाता २०८० माघ ११ गते १०:५५

पोखरा ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ माघ १० गते स्थापना भएको बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले बुधबार आयोजना गरेको विशेष समारोहमा उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ ।


गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले कार्यक्रम उद्घाटन गर्दै उत्पादनमूलक तथा छिटो प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरेको जानकारी दिए । ‘प्रदेशको आयआर्जन बढाउने क्षेत्रमा मात्र लगानी गर्ने नीति छ,’ उनले भने, ‘अनुत्पादक क्षेत्रमा लगानी नगर्ने नीतिका कारण सामुदायिक भवन निर्माणको बजेट कटौती भएको छ ।’


उनले प्रदेशले आयेजना बैंक बनाएर तीन तहको सरकारको बजेटलाई एकत्रित गरी प्रभावकारी काम गर्ने योजना सुनाए । उनले वाणिज्य बैंकले छरिएर रहेका पुँजीलाई एकत्रित गरी लगानी गरेको बताए । मन्त्री आलेले सरकारले पुँजीगत खर्च बढाउन नसकेको उल्लेख गरे ।

Advertisement


बैंकका निमित्त प्रादेशिक प्रबन्धक विदुरभूषण क्षत्रीले विगतको तुलनामा बैंकको सेवा प्रवाहको अवस्थामा सुधार आएको दाबी गरे । उनले बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको जानकारी दिए ।


पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बैंकका कर्मचारी संस्थाप्रति जिम्मेवार भएर काम गरे अरु वाणिज्य बैंकलाई पछाडि पार्न सकिने सुझाव दिए । उनले बैंक तथा वित्तीय संस्थामा दलगत रुपमा ट्रेड युनियन आवश्यक नभएको उल्लेख गरे । लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले बैंक वाणिज्य बैंक मध्येको एक नम्बर बैंक भएको बताए । उनले उद्योग प्रवद्र्धनमा लगानी गरी रोजगारी सिर्जना गर्न आग्रह गरे ।

Advertisement


कार्यक्रममा बैंकका गण्डकी प्रदेशका प्रबन्धकहरु दयाराम पन्त र नवीनराज पौडेल, बैंकका शाखा कार्यालयका प्रबन्धक हरिराम पराजुली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष सन्तोष ढुंगाना, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश अध्यक्ष प्रकाश क्षत्री, राष्ट्रिय वाणिज्य बैंक नेपाल कर्मचारी संगठन गण्डकी प्रदेशका अध्यक्ष मेदिनीविलास घिमिरे लगायतले बैंकको समग्र अवस्थाका बारेमा बोलेका थिए ।


विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत सेयर पुँजी ३० अर्ब, जारी र चुक्ता सेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रुपैयाँ छ । बैंकको विद्यमान पुँजी संरचना अनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत सेयर छ ।


बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड छ । शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित २ दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाइमार्फत् सेवा दिइरहेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धि, धार्मिक तथा सांस्कृतिक सम्बद्र्धन क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया