संकटालाई हराउँदै आर्मी सेमीफाइनलमा

समाधान संवाददाता २०८० माघ १५ गते १०:२२

पोखरा ।
साविक विजेता संकटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल पुगेको छ । आइतबारको खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गर्दै आर्मीले संकटालाई ३–० ले पन्छाएको हो ।


खेलको पहिलो हाफको अतिरिक्त समयमा कप्तान भरत खवासको पासमा जिलेस्पीजंग कार्कीले गोल गरे । कार्कीले सुन्दर हेड गर्दै गोल गरेपछि आर्मीले खाता खोलेको हो । आर्मीले दोस्रो गोल भने पेनाल्टीमा गर्‍यो । ४९ औं मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेमजनले गोल गर्दै अग्रता दोब्बर बनाए ।


यसअघि हेमजनले गरेको प्रहार संकटाका कुलदीप कार्कीले बचाउ गर्ने क्रममा हातमा लागेपछि आर्मीले पेनाल्टी पाएको थियो । आर्मीले तेस्रो गोल ७६ औं मिनेटमा गरेको थियो । हेमजनले जिलेस्पीजंग कार्कीको पासमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् । आर्मी र संकटबिचको प्रतिस्पर्धापूर्ण खेल हेर्न अघिल्लो दिनको तुलनामा उल्लेख्य दर्शक पोखरा रंगशाला पुगेका थिए । खेलमा गोल गर्ने केही पाए पनि २ पटकको आहा रारा विजेता संकटा यसपालि पहिलो खेलमै पराजित भई घर फर्किएको छ ।

Advertisement


आहा रारामा अहिलेसम्म ४ पटक फाइनलले खेलिसकेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । भरत खवासको कप्तानीमा रहेको आर्मी प्रिक्वाटरमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १–० ले पराजित गर्दै क्वाटर फाइनल पुगेको थियो । संकटाले प्रतियोगिताको पहिलो चरणमा बाई पाउँदै सिधै क्वाटर फाइनल खेलेको हो । नेपालको राष्ट्रिय टिम फुटबल टिमबाट खेलिसकेका आर्मीका कप्तान भरत खवाससहित अहिले राष्ट्रिय टिमका जिलेस्पीजंग कार्की र दिनेश हेन्जन लगायतका खेलाडी रहेको आर्मी अब इतिहास रच्ने दाउमा छ ।


प्रतियोगितामा आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाईजबिचको विजेतासँग माघ १८ गते खेल्नेछ । शनिबार भएको पहिलो क्वाटर फाइनलबाट थ्रिस्टार क्लब पाहुना टोली पारो एफसीलाई हराउँदै सेमीफाइनलमा पुगिसकेको छ । सोमबारको खेलमा जवलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लब आमनेसामने हुँदै छन् । यो खेलको विजेतासँग थ्रिस्टारले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया