इभीका प्रयोगकर्ता बढे, प्रोत्साहन भएन

समाधान संवाददाता २०८० माघ १५ गते १२:५६

पोखरा ।
इलेक्ट्रोनिक गाडीको प्रयोगले देशमै उत्पादन भएको विद्युत खपत भई इन्धनबाट बाहिरिने पुँजी रोकिने भएकाले इभी गाडीको प्रयोगलाई सरकारले सहुलियत दिनुपर्ने सरोकारवालाले बताएका छन् ।


स्वदेशी पुँजीलाई विदेशिनबाट जोगाउने भएकाले राज्यले इभी प्रयोगकर्तालाई प्रोत्साहन गर्नुपर्ने पोखरामा आयोजित कार्यक्रमका सहभागीले जनाए । सार्वजनिक यातायातको क्षेत्रका प्रवुद्ध समूहको आयोजनामा वर्तमान अवस्थामा ‘विद्युतीय गाडीको प्रवेश र चुनौती राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडी’ विषयक अन्तरक्रियामा सहभागीले राज्यले इभीप्रति लगानीमैत्री नीति लिएर उपभोक्तालाई प्रोत्साहन गर्न सके राष्ट्रिय हितमा हुने विचार राखे ।


प्रतिनिधि सभा सदस्य विद्या भट्टराइले इभी गाडीको प्रयोगले वातावरण र अर्थतन्त्रलाई समान रुपमा फाइदा रहेकाले यसको प्रयोगमा जोड दिनुपर्ने बताइन् । ‘अहिले क्ल्याइमेटमा क्राइसिसको अवस्था छ, इभी गाडीले वातावरणलाई पनि असर नगर्ने भएकाले यसको प्रयोगमा सहजता ल्याउँदै सरकारले स्वदेशी पुँजी संरक्षणका प्रयास थालनी गर्नुपर्छ,’ उनले भनिन् । यसको गहन अध्ययनसँगै दीर्घकालीन बनाउन उनले आग्रह गरिन् ।

Advertisement


अर्का प्रतिनिधि सभा सदस्य शिव नेपालीले अहिले इभीको प्रयोग राष्ट्रिय हितका लागि भएकाले यसमा राज्यलाई जवाफदेही बनाउन संसदमा कुरा उठाउने प्रतिवद्धता गरे । नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सचिव भानु बरालले पुराना गाडी व्यवस्थापन गरी इभी प्रयोगका लागि सरकारले गर्नुपर्ने प्रयास पर्याप्त नभएको बताए ।

एसआरएम र स्काइवेलको इभी भ्यानका लागि आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सको सोरुम पोखरामा

Advertisement


उनले भने, ‘सबै तवरले इभी गाडि उपयुक्त छ, तर सरकारले लगानीमैत्री वातावरण तयार गर्ने स्पष्ट नीति ल्याउन सकेको छैन ।’ देशको पुँजी बजार संकटको अवस्थामा रहेको जनाउँदै उनले आर्थिक समृद्धिका लागि इभीको प्रयोग जरुरी हुने औंल्याए ।


जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले पुराना इन्धनवाला गाडीभन्दा पछिल्लो समय बजारमा आएका इभी प्रविधिको प्रयोग भएकाले ट्राफिक व्यवस्थापनमा पनि सहज हुने जनाए । उनले नागरिकको स्वस्छ वातावरणमा बाँच्न पाउने अधिकार भएकाले इभीको प्रयोग वातावरणमैत्री र स्वास्थ्यका दृष्टिले पनि उपयुक्त रहेको धारणा राखे ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले इभी वातावरणमैत्री भएकाले पर्यटकीय सहरमा यसको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले लगानीकर्र्तालाई प्रोत्साहन हुने नीति ल्याउने सके इभीको प्रयोगले सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे ।


पृथ्वी राजमार्ग यातायात प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले यसका लागि कर, आयात, भन्सारसँगै लगानीमैत्री नीति जरुरी हुने औंल्याए । प्लगइन अटोमोबाइल्स प्रालिका अध्यक्ष प्रकटकुमारले विश्व बजारमा नै पछिल्लो समय इभीको प्रयोग बढेको जनाउँदै नेपालजस्तो मुलुकका यसको प्रयोगले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।


कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेल केसी, पश्चिमाञ्चल अटो मोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघ अध्यक्ष पवन प्रजापति लगायतले इभी गाडी समयको माग भएको जनाउँदै कानुनी अड्चन हटाएर सहज वातावरणका लागि आवश्यक नीतिको खाँचो औंल्याए ।


वर्तमान अवस्थामा इलेक्ट्रोनिक गाडीका फाइदा र वेफाइदाका विषयमा पूजा कन्स्ट्रक्सन नेपाल प्रालिका इभि डिभिजन बिजिनेस हेड ज्ञानप्रसाद शर्माले प्रकाश पारेका थिए । सो अवसरमा विद्युतीय सवारीसाधन ११ सिटे, १४–१६ सिटे, २१–२५ सिटे एसआरएम र स्काइवेलको इभी भ्यानका लागि आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सको सोरुम उद्घाटनसमेत गरिएको छ ।

एसआरएम र स्काइवेलका इभी भ्यान बिक्रीका लागि सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको प्लगइनका प्रबन्ध निर्देशक ओम उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया