पोखरा म्याराथन दक्षिण एसियाकै पहिलो

पोखरामा म्याराथन सुरु भएको ४ वर्षपछि मात्रै मुम्बईमा पनि

समाधान संवाददाता २०८० माघ १५ गते १९:५०

पोखरा ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सञ्चारमाध्यमबाट अझै उचाईमा पु¥याउन ‘मिडिया पार्टनर’हरुसँग छलफल गरिएको छ । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सोमबार छलफल भएको हो ।
त्यस अवसरमा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनलाई जन–जनमा पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ सबैको सहयोगका लागि आग्रह गरे ।

पोखरा म्याराथन सुरु हुन १८ दिन बाँकी हुँदा १२ देशका २९ विदेशी धावकले नाम दर्ता गरिसकेको जानकारी दिँदै निवर्तमान अध्यक्ष गुरुङले पोखरा म्याराथनको उचाईलाई अझै आत्मसात गर्न सञ्चार क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए ।

१८ औं सस्करणमा सबै धावक तथा खेलाडीको अनलाइनमार्फत दर्ता हुने जानकारी दिंदै निवर्तमान अध्यक्ष गुरुङले त्यसका लागि माघ २८ गतेसम्म अन्तिम दर्ता तोकिएको बताए ।

Advertisement

‘पोखरा म्याराथन कुनै संस्थाको मात्रै प्रतियोगिता होइन । यो आम पोखरेलीको हो’, उनले भने, ‘पोखरा म्याराथनको जसरी आज विश्वव्यापी रुपमा चर्चित भएको छ यसको श्रेय हामी सबैलाई बाँड्न चाहन्छौं ।’ गुरुङले पोखरा म्याराथन नेपालको मात्रै नभई दक्षिण एसियाकै पहिलो म्याराथन प्रतियोगिता भएको जानकारी दिए । पोखरामा म्याराथन सुरु भएको ४ वर्षपछि मात्रै मुम्बईमा सुरु भएको उनले सुनाए ।
नेपालकोे दौड इतिहासको जेठो पोखरा म्याराथनको पोहोरको संस्करणमा विभिन्न विधामा ८ हजार ७ सय ७१ जना सहभागी भएको र यसपालि अझै बढेर जाने अपेक्षा गरिएको उनले बताए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्र्रत्यक्ष सहयोग रहने कार्यक्रममा महानगरभित्रका १७ वटा वडा कार्यालयको सहयोग रहने जानकारी गुरुङले गराए । उनले भने, ‘५ सयभन्दा बढी संघ संस्थाहरुको सहकार्य, ५ सय भन्दा बढी स्वयंसेवक परिचालन हुँदा १५ भन्दा बढी अस्पताल परिचालित हुन्छन् ।’
उनले भने, ‘पोखरा म्याराथनलाई हामीले प्रविधिमैत्री बनाएका छौं । सहज रुपले दर्तादेखि सबै आफ्नो रेसको प्रमाणपत्रसमेत खेलाडीले अनलाइनमार्फत नै प्राप्त गर्ने छन् ।’ यस पटकको पोखरा म्याराथनमा हरेक खेलाडीलाई चिप्स प्रदान गरिने जानकारी दिँदै पोखरा रंगशालाबाट सुरु हुने दौड सहरका विभिन्न भाग हुँदै पोखरा हल्लनचोकस्थित क्याम्पिङ चोकमा पुगेर समापन हुने निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिए ।

आकर्षणहरु
४२.१९५ किमीको खुला म्याराथन
गण्डकी प्रदेशको छुट्टै प्रतिस्पर्धा
महिला हाफ म्याराथन
१० किमि पुरुष तथा महिला
५ किमि छात्र, छात्रा दौड
ह्विल चियर र दृष्टिविहीन दौड
५० वर्षमाथिकाको पनि प्रतिस्पर्धा

Advertisement


सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि छ । अरू विधाहरू जस्तै महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र, छात्रा, ह्विल चियर तथा दृष्टिविहीनतर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ । प्रतियोगितामा पुरस्कारका लागि मात्र १८ लाख १६ हजार रुपैयाँ खर्च हुने र १ हजार जनालाई मेडल प्रदान गरिने निवर्तमान अध्यक्ष गुरुङले बताए ।


मञ्चका प्रथम उपाध्यक्ष एवं पोखरा म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङको अध्यक्षतामा भएको मिडियासँगको छलफल कार्यक्रममा बहुआयमिक व्यक्तित्व एवं वरिष्ठ सञ्चारकर्मी प्रकाश सायमीले पोखरा म्याराथनको इतिहासले आफूलाई समेत सो दिन पोखरा आउन प्रेरित गरेको बताउँदै सफलताको शुभकामना दिए ।

कार्यक्रममा पोखरा म्याराथन प्रचारप्रसार समिति संयोजक केशव पाठक, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव माधव बराल, खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, पत्रकारहरु भरत कोइराला, केशवशरण लामिछाने लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया