मनाङ मस्र्याङ्दीमाथि जावलाखेलको जित

समाधान संवाददाता २०८० माघ १६ गते १०:३०

पोखरा ।
आहा रारा पोखरा गोल्ड कपमा मनाङ मस्र्याङ्दीविरुद्ध सकसपूर्ण जित निकाल्दै जावलाखेल युथ क्लब सेमीफाइनल पुगेको छ । सोमबार पोखरा रंगशालामा भएको खेल निर्धारित समयमा १–१ बराबरी भएपछि थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् ।


पेनाल्टी सुटआउटमा आहा राराको ६ पटकको उपाधि विजेता मनाङलाई हराउँदै जावलाखेल ७–६ ले भग्यमानी ठहरिएको हो । यसअघि अतिरक्त समयको अन्तिमतिर जावलाखेलले पेनाल्टी सुटआउटलाई ध्यानमा राख्दै गोलकिपर परिवर्तन गरेको थियो । अनिश देउलाको स्थानमा उनेश चौधरी मैदानमा आएका थिए ।


जावलाखेलका लागि विशाल तामाङ, पुस्कर खड्का, छिरिङ लामा, प्रवेश कुँवर, हरिशराज भट्ट, प्रदीप बुढाथोकी र शिशिर लेखीले गोल गरे । जावलाखेलका सेवान्त थापा र हिसुव थपलियाले पेनाल्टी मिस गरे । मनाङका जय गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, अस्विन घोरसैनी, लुक्षु थापा मगर, जियारथले गोल गरे । रणदीप पौडेल, सुरज सिंह र निशान लिम्बुले गोल मिस गरे ।

Advertisement


त्यसअघि ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपिलियाले गोल गरेका थिए । सुदीप श्रेष्ठले दिएको पासमा थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । मनाङले निर्धारित समयको अन्तिममा खेललाई बराबरीमा ल्याएको थियो । ८९ मिनेटमा मनाङका राजेश परियारले बायाँ साइडबाट सिधै विपक्षीको बक्समा क्रस गरेके बल गोलमा परिणत भएको थियो ।


जावलाखेल प्रिक्वाटर फाइनलमा मछिन्द्र एफसीलाई पराजित गर्दै सेमीफाइनलमा पुगेको हो भने मनाङ बाई पाएर सिधै खेल्न आइपुगेको हो । अहिलेसम्म २० संस्करण खेलेको मनाङ जावलाखेलसँग स्तब्ध हुँदै घर फर्किएको छ । २०६८ मा पहिलो सहभागितामै जावालखेल मनाङसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

Advertisement


यसअघि साविक विजेता संकटालाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगिसकेको छ । आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाईजबिचको विजेतासँग माघ १८ गते खेल्नेछ । शनिबार भएको पहिलो क्वाटर फाइनलबाट थ्रिस्टार क्लब पाहुना टोली पारो एफसीलाई हराउँदै सेमीफाइनलमा पुगिसकेको छ । अब जवलाखेलले थ्रिस्टारसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

तपाईको प्रतिक्रिया