पुन हिल कप भलिबल सुरु

समाधान संवाददाता २०८० माघ १६ गते १२:१४

पोखरा ।
पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।


समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता छ । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले नेपालमा भलिबल खेलको विकास तीव्र रुपमा भइरहेको बताए । उनले गाउँ वा सहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि गरेको सुनाए ।


परिषदले खेलककुद विकासका लागि आवश्क सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । प्रथम पुन हिल कप आयोजनासहित पुख्र्यौली कला र संस्कृतिको संगम थलो बनाएकोमा उनले खुसी व्यक्त गरे । ‘यस्ता प्रतियोगितालाई निरन्तरता दिनुहोला । परिषद्बाट हुने सहयोग गर्छाैं,’ उनले भने । यो क्षेत्र खेलकुदको उर्बर क्षेत्र भएको बताउदै गुरुङले जहाँ जस्तो खेलको विकासको सम्भावना छ त्यहाँ त्यसैको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

Advertisement


संस्कृतिकर्मी तुलसी प्रभासले नेपाली मौलिक कला, संस्कृतिले भरिपूर्ण भएको बताउँदै यिनको संरक्षणको दायित्व हाम्रै काँधमा आएको बताए । उद्घाटन शत्रमा अर्चलबोट आमा समूह, चेतनशील आमा समूह ढुंगेपाटन लगायतका समूहले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पुख्र्यौली नृत्य पनि देखाइएको थियो । पुन समाज नेपाल अध्यक्ष भीमबहादुुर फगामीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव खिमनशेर पुर्जा पुनले गरेका थिए ।


यसैबीच, प्रतियोगितामा प्रौढ तर्फका खेल सुरु भएको छ । पुन समाज नेपाल तथा ढुंगेपाटनबीच खेल भएको हो । प्रतियोगितामा प्रथम हुने पुरुष टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता हुने छिमले रुपैयाँ ५५ हजार ५ सय ५५, मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन् ।

Advertisement


महिलातर्फ प्रथम हुने टिमले ६६ हजार ६ सय ६६ र उपविजेताले ३३ हजार ३ सय ३३ सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । प्रतियोगितामा ४० वर्षमाथि उमेरका प्रौढको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

तपाईको प्रतिक्रिया