पोखरा म्याराथनका सबै धावकलाई चिप्स

समाधान संवाददाता २०८० माघ १७ गते १४:१२

पोखरा ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुने धावक संख्या निर्धारणसँगै माघ २८ गतेसम्म खेलाडीको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो ।


नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।


१८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको व्यवस्था गरेको छ । यसअघि म्याराथनमा सिमित चिप्सको प्रयोग १८ औं संस्करणको खुला म्याराथनसँगै हाफ म्याराथन महिला, १० किमि महिला/पुरुष दौड र ५ किमि छात्र÷छात्राको दौडमा समेत चिप्सको प्रयोग हुने अध्यक्ष पराजुलीले जानकारी दिए ।

Advertisement


‘अब सबै दौडको सही समय र दूरी मापन हुन्छ,’ उनले भने, ‘कुनै पनि धावकले रुटभन्दा बाहिर भागबाट छलेर दौड पूरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत हौसला बढ्नेछ भने आफ्नो टाइमिङको स्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।’


गत वर्षबाट खुला म्याराथनबाट सुरु गरिएको चिप्सको प्रयोग नेपाल रन युकेको सहकार्यमा भएको हो । १८ औं सस्करणका लागि भने सबै टेक्निकल डिभाइस (चिप्स) करिब ३ हजार थान गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा भएको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिएका छन् ।

Advertisement


उनले भने, ‘नेपाली खेलकुदको इतिहासमा यो नयाँ फड्को हो । जहाँ म्याराथनमात्रै नभई १० किमि र ५ किमिमा समेत चिप्सको प्रयोग हुँदै छ । यसले नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्ने बलियो सन्देशसमेत दिनेछ । नेपाली सिटी म्याराथनको इतिहासमा नै पहिलो पटक हामी कोटा निर्धारण गर्दैछौं,’ ओलम्पिक कमिटीका उपाध्यक्षसमेत रहेका गुरुङले भने, ‘यसले खेलाडीलाई अन्तिम समयमा आएर दर्ता गर्ने परिपाटीसमेत निराकरण गर्नेछ भने सहभागीहुने हरुलाई समेत आफ्नो भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट्याउँछ ।’


सबै इभेन्टमा चिप्स प्रयोग हुने भएपछि आयोजकले माघ २८ गतेसम्म अन्तिम दर्ता तोकेको छ । तर यसअघि दौडको अघिल्लो दिनसम्म धावकहरु दर्ताका लागि आउने गरेका थिए ।


अध्यक्ष पराजुलीले विगतलाई सम्झिंदै भने, ‘विगतमा खेलाडीको दर्ता अन्तिम समयमा हुँदा हामीले निकै ठूलो समस्या भोग्नु परेको थियो । तर यो वर्षबाट त्यो समस्या हट्नेछ ।’ अन्यलाई ‘रन फर फन’मा समेट्ने योजना छ । ‘रन फर फन’मा १० हजार हाराहारी दौडमा सहभागी हुने छन् ।

अपांगतर्फको दौडमा भने चिप्सको प्रयोग हुने छैन । पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध हो । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवासीय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, विविल राइज फाउन्डेसन लागायतको सहयोग रहनेछ ।


पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथनसमेत हो । १८ औं संस्करणमा ४१ विभिन्न इभेन्टमा विजेताहरुलाई १८ लाख १६ हजार नगद प्रदान गरिनेछ ।

दौड र कोटा
खुला म्याराथन ४२.१९५ किमि– १६० जना
महिला हाफ म्याराथन– ५० जना
१० किमि पुरुष– ४५० जना
१० किमि महिला– १५० जना
५ किमि छात्र– १२०० जना
५ किमि छात्रा– ७०० जना
५ किमि भेट्रान पुरुष– ५० जना
५ किमि भेट्रान महिला–२५ जना

तपाईको प्रतिक्रिया