पुन हिल कपमा तेस्रो दिन ५ खेल

समाधान संवाददाता २०८० माघ १८ गते ११:२२

पोखरा ।
पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन ५ खेल भएका छन् । प्रतियोगिता अन्तर्गत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ १ खेल भएका हुन् ।


पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेका छन् । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । पोखरा भेट्रानले २५–१८, २५–७ र २५–१८ को सहज जित निकाल्दै फाइनल पुगेको हो ।


दोस्रो सेमीफाइनल खेलमा गगनगौडाले रामबजार भेट्रानमाथि पनि ३–० कै सोझो सेटमा जित हासिल गरेको हो । गगनगौडाले २५–२३, २५–२२ र २५–२३ को जित निकाल्दै पोखरा भेट्रानसँगको भेट पक्का गरेको हो । महिलातर्फ २ क्वाटरफाइनल खेल भएका छन् । पहिलो खेलमा नवलपुरले मध्य नेपालमाथि २–० को सोझो सेटमा हराएको हो । नवलपुरले २५–१७ र २५–१७ को जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

Advertisement


दोस्रो खेलमा कर्पाकेली समाजले पुन क्लबलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । कर्पाकेलीले २५–१३, २३–२५ र २५–१० को सेटमा हराएको हो । पुरुषतर्फ पनि एउटा खेल भएको छ । छन्त्याल समाज ‘ए’ ले भुक देउरालीलाई २–१ को सेटमा हराएको हो । छन्त्याल ‘ए’ले २५–२२, २५–२७ र २५–१८ को जित निकालेको हो ।


जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म बेस्ट अफ थ्री अनुसार खेलाइएको छ भन सेमीफाइनलदेखि बेस्ट अफ फाइभको आधारमा खेलाइएको छ । समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।

Advertisement

तपाईको प्रतिक्रिया