बगर भाइखलक भेट्रान फुटबलमा ३६ टिम

समाधान संवाददाता २०८० माघ १८ गते १६:३७

पोखरा ।
बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा ३६ टिमको सहभागिता हुने भएको छ ।


आगामी शनिबारदेखि पोखरा १ टुँडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन विधामा गरी ३६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्ष्य गर्दै यो वर्षदेखि ३विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरी ३ उमेर समूहमा प्रतियोगिता हुनेछन् ।


‘हामीले यसपटक ३ उमेर समूहको प्रतिस्पर्धा गर्दैछौ । प्रतियोगिताको मुख्य उदेश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु हो,’ उनले भने, ‘ग्रास रुटको विकासमा बुढाहरुको फुटबल किन भनियो भने बुढाहरु त खेल्दा रहेछन् हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौं,’ उनले भने ।

Advertisement


सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका केसी वरिष्ठ प्रशिक्षक हुन् ।


प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता छ ।

Advertisement


५० वर्षमाथि उमेर समूहको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता छ । तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


एक हप्तासम्म चल्ने प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्रालि छ । सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके छ । विभिन्न संघ संस्थाहरुको समेत सहयोग छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटाैंडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया