हिसान प्लस टु तथा युनिभर्सिटी लेबल फुटसल फागुनमा

समाधान संवाददाता २०८० माघ १८ गते १६:४१

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेबल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ ।


फागुन ४ देखि ७ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको कास्की छनोट माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागिताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ ।


हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । उनले कास्की जिल्लाबाट १२ टिम छनोट हुने जानकारी दिए ।

Advertisement


कास्कीबाट १२ र अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफी र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने अध्यक्ष बरालले बताए । कास्की छनोटमा करिब ५० विद्यालयको सहभागिता जनाउने प्रतियोगिताको व्यवस्थापन गरिरहेको सबिन मेमोरियल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए । कास्की छनोटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रयितोगितामा एउटा विद्यालयबाट २ टिमले सहभागीता जनाउन पाउने उनले बताए ।


युनिभर्सिटी लेबल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका १२ टिमको सहभागिता हुने लिगले बताए । खुला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफी, उपविजेताले नगद १० हजार मेडल र ट्रफी प्राप्त गर्ने छन् ।
उनले कास्की छनोट पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा हुने बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्बल हो ।

Advertisement


हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । युवाहरुमा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकाहरुलाई यो अवसर हुने उनको भनाई छ ।


हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा सम्पन्न बैठकले प्रतियोगिता सम्पन्न गर्न न्यायिक समिति बताएको छ । समितिमा केन्द्रिय सल्लाहकार सूर्यबहादुर जिसीको संयोजकत्वमा केन्द्रीय सचिव कृष्ण केसी, कास्की जिल्ला अध्यक्ष यमबहादुर रोका र गण्डकी प्रदेश हिसानका सदस्य त्रिभुवन शर्मा छन् ।

बैठकले प्लस टुको टिम दर्ता माघ २३ गते भित्र गरिसक्नुपर्ने र युनिभर्सिटी लेबलको टिम दर्ता फागुन १ गतेभित्रमा गरिसक्नुपर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार खर्च हुने प्रदेशका कोषाध्यक्ष राजेन्द्रमणि पौडेलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया