उपल्लो मुस्ताङमा हिमपात

सुन्दरकुमार थकाली २०८० माघ १८ गते १६:५८

जोमसोम ।
उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा बिहीबार बिहानैदेखि भारी हिमपात भएको छ । जिल्लाको मुक्तिनाथ क्षेत्र तथा उपल्लो मुस्ताङका २ पालिकामा ठूलोमात्रा हिमपात भइरहेको जनाइएको छ ।


उपल्लो मुस्ताङमा भारी हिमपात भइरहँदा तल्लो मुस्ताङमा भने उत्तरी हावाहुरीका कारण हिउँ पर्न सकिरहेको छैन । मुस्ताङमा बिहीबार बिहानदेखि मौसम धुमिल भइरहेको छ । यसका बाबजुद तल्लो मुस्ताङमा हिउँ पर्ने सम्भावना प्रवल बनेको बताइएको छ ।


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्रमा एक फिट हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए । यसैगरी उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको प्रनाउ पाण्डेले उल्लेख गरे ।

Advertisement

‘बिहानैदेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि माथिल्लो क्षेत्रमा ब्यापक हिमपात भइरहेको छ, हिमपातले मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका डाँडाकाँडा हिउँले चाँदी झै सेताम्मे भइसकेको छ,’ प्रनाउ पाण्डेले भने, ‘मुक्तिक्षेत्रको रानीपौवा बजार र उपल्लो मुस्ताङका ग्रामीण बस्तीमा समेत बाक्लो हिउँ परेको छ ।’


मुस्ताङमा जारी सिजनमा तेस्रोपटक हिमपात भएको हो । यसअघि मंसिरको दोस्रो साता र माघको १२ गते मुस्ताङमा हिमपात भएको थियो । तर, मुस्ताङमा दोस्रोपटक हिमपात हुँदा उपल्लो मुस्ताङमा हिमपात भएको थिएन । तल्लो मुस्ताङको थासाङमा हिमपात भएको थियो ।

Advertisement

हिउँको पानी जमिनको भित्री तहसम्म पुग्ने भएकाले खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन ठूलो योगदान पुग्ने


जलवायु परिवर्तनका कारण मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको छ । कुनै वर्ष अत्यधिक हिमपात, कुनै वर्ष आशिंक हिमपात र कुनै वर्ष हिमपात नै हुने थिएन । गतवर्ष मुस्ताङमा बेमौसममा हिमपात भएको थियो । अनुकुल समयमा हिमपात नहुँदा मुस्ताङमा स्याउ लगायत खाद्य बाली तथा फलफूल उत्पादनमा समेत ह्रास आएको थियो ।


मुस्ताङमा तेस्रोपटक हिमपात भएसँगै स्थानीयको जनजीवनसमेत प्रभावित बनेको छ । हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । स्थानीय बासिन्दा हिमपातका कारण घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसो र हिमपातका कारण घरका धारा, सेफ्टी ट्याङ्की, सिँचाइ कुलो र शाखा नदीसमेत बरम बनेर जमेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिए ।

घरका धारा जमेपछि स्थानीयले कुलो बरम पानी तताएर पिउने गरेका छन् । पशु चौपायाको व्यवस्थापन र आहारा खुवाउनसमेत असर परेको उनले बताए । उपल्लो मुस्ताङको सडकमार्गमा समेत बाक्लो हिउँ जमेकाले सवारी साधन आउजाउ समेत अवरुद्ध बनेको उनले बताए ।


मुस्ताङमा यसवर्ष एक साताको फेरोमा पुन हिमपात भएसँगै जिल्लाका कृषकहरु उत्साहित बनेका छन् । हिउँदयामको अनुकुल समयमा परेको हिउँ कृषकका लागि बरदान सावित हुने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले उल्लेख गरे । हिमपातले खेतीयोग्य जमिनलाई सिञ्चित गर्ने, हिउँको पानी जमिनको भित्री तहसम्म पुग्ने भएकाले खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन ठूलो योगदान पुग्ने कार्यालय प्रमुख बस्ताकोटीको भनाई छ । हिउँ सिँचाइका लागि मात्र नभई शीतोष्ण फलफूल तथा तरकारी र अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमणलाई प्रतिरोध गर्नसक्ने क्षमता भएकाले हिउँदयामको हिउँ कृषकका लागि बरदान भएको उनको भनाइ छ ।


मुस्ताङमा यसवर्ष अनुकुल समयमा हिउँ पर्न थालेकाले यही क्रममा रहेमा फागुनमा मुक्तिनाथमा स्की प्रतियोगिता आयोजना गर्न सकिने सम्भावना रहेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए । मुक्तिनाथमा यसअघि ३ पटक राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरिएको थियो ।


हिमपातसँगै मुस्ताङमा पर्यटकीय गतिविधिसमेत बढ्न सक्ने अपेक्षा गरिएको छ । फागुन सुरु भएपछि मुस्ताङमा पर्यटकीय चहल÷पहल सुरु हुन्छ । हिउँ हेर्न र खेल्न पर्यटकहरु मुस्ताङ आउने भएकाले अझै हिउँ पर्न आवश्यकता रहेको स्थानीयबासीको भनाइ छ ।


हिउँदयाममा अत्यधिक चिसो हुने भएकाले मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरेका छन् । पर्यटक व्यवसायी, स्थानीय नागरिक र कर्मचारीहरु समेत जाडो छल्न बेसी झरेकाले मुस्ताङ अहिले सुनसान छ । उच्चलेक र खर्कका याकचौरी र भेडाच्यांग्रा न्यानोका लागि बस्ती नजिक सारिएको छ । जिल्लाका शैक्षिक संस्थाहरुलाई हिउँदे २ महिना लामो बिदा दिइएको छ । उपल्लो मुस्ताङका विद्यालय भने जाडो छल्दै घुम्ती कक्षा सञ्चालन गर्दै बेसीमा स्थान्तरण भएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया