आहारारा पोखरा गोल्डकप: उपाधिका लागि आर्मी र थ्रीस्टारको भेट

समाधान संवाददाता २०८० माघ १९ गते १०:१८

पोखरा ।
चर्च ब्वाइज युनाइटेडलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । युनाइटेडलाई अतिरिक्त समयमा २–१ ले हराउँदै आर्मी फाइनमा पुगेको हो । योसँगै अब आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि माघ २० गते शनिबार प्रतिस्पर्धा गर्नेछ ।

आर्मी र थ्रीस्टार पछिल्लोपटक २०७५ मा सँगै फाइनल पुगेका थिए । त्यतिबेला निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा थ्रीस्टारले जीतेको थियो । थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब उपाधिविहीन छ ।


बिहीबार भएको आर्मीलाई जिताउन खेलको अतिरिक्त समय ९९ औं मिनेटमा रसबहादुर मगरले गरेको गोल नै निणर्यक बनेको थियो, जसले त्रिभुवन आर्मी क्लबलाई उपाधिका लागि फाइनलमा पुर्‍यायो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । फाइनलसम्मको यात्रा सुरक्षित गर्न दुवै टिम संघर्षरत हुँदा ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । त्यसको केही समयमै चर्च ब्वाइजका समीर तामाङले ८५ औं मिनेट गोल हानेपछि खेल १–१ को बराबरीमा अघि बढ्यो ।

Advertisement

थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब उपाधिविहीन छ


हेम्जनले करिब ३० यार्डबाट पाएको फ्रिकिमा गोल गर्न सफल भए । खेल सकिन ५ मिनेटअघि समिर तामाङले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काएका थिए । उनको गोलसँगै नतिजा बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
६१ औं मिनेटमा पेनाल्टी बक्स नजिकै उनलाई चर्चब्वाइजका सन्तोष खत्रीले लडाउन पुगेका थिए ।

Advertisement

लगत्तै उनलाई मुख्य रेफ्री प्रज्वल क्षत्रीले पहेंलो कार्ड दिँदै आर्मीलाई फ्रिकिकको मौका दिएका थिए । त्यही मौका हेम्जनले गुमाएनन्, गोलमा परिणत गरे । लगत्तै चर्च ब्वाइजले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो । खेलको ८५ औं मिनेटमा चर्चब्वाइजका समीर तामाङले गोल गरे । अतिरिक्त समयमा आर्मीले अग्रता लिएको केही समयपछि चर्च ब्वाइजले खेलाडी परिवर्तन गरेको थियो ।


मैदानभित्र रहेका सन्तोष खत्रीको ठाउँमा लाइनअपमै नभएका कृपाकान्त चौधरीलाई मैदान पठाएको थियो । भित्र छिरिसकेका चौधरीको लाइनअपमै नाम नभएको सहायक रेफ्रीले जनाउ दिए । मुख्य रेफ्री प्रज्ज्वल क्षेत्रीले उनलाई बाहिर पठाए । उनीसँगै सन्तोष खत्री पनि बाहिर आइसकेका थिए । केहीबेर १० जनामात्रै खेल खेलेपछि बल्ल लाइनअपमा भएका मनीष जर्घामगर मैदान प्रवेश गरे ।


चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको थियो । चर्च ब्वाइजलाई सेमिफाइनलमा पु¥याउन खेलको एकमात्र निर्णायक गोल समीर तामाङले ७२ औं मिनेटमा गरेका थिए । साविक विजेता संकटालाई तीन–शून्य गोलले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको थियो । आर्मीका लागि दिनेश हेम्जनले दुई गोल गरेका थिए ।

खेलको ४५ औं मिनेटमा कप्तान भरत खवासको क्रसमा जिलेप्सीजंग कार्कीले हेडमार्फत सुन्दर गोल गरेका थिए । ४९औं मिनेटमा दिनेश हेम्जनको प्रहारलाई रोक्ने क्रममा संकटाका कुलदीप कार्कीले ह्यान्ड गरेपछि आर्मीले पेनाल्टी पायो । हेम्जनले पेनाल्टीमा गोल गरेपछि दुई–शून्यले पछि परेको संकटा खेलमा फर्कन सकेन । ७६ औं मिनेटमा जिलेप्सीजंग कार्कीको असिस्टमा हेम्जनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि संकटा स्तब्ध बनेको थियो ।


यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले १२ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीलाई ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । यसैगरी विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया