कास्की मोडनाइज्ड एकेडेमीमा ५६ युनिट रगत संकलन

समाधान संवाददाता २०८० माघ १९ गते १०:४२

पोखरा ।
कास्की मोडनाइज्ड एकेडेमीले खुला रक्तदान कार्यक्रममार्फत ५६ युनिट रगत संकलन गरेको छ । पोखरा १४ चाउथे बिपीमार्गमा एकेडेमीको प्रांगणमा ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट ५६ युनिट रगत संकलन भएको छ ।


नेपाल जुनियर युवा रेडक्रस सर्कल कास्की र मोडनाइज्ड एकेडेमीको आयोजना भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्माले ब्लड व्याग दिएर कार्यक्रमको सुरुवात गरेका थिए । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता शिक्षक गणेश क्षेत्रीले दिएका हुन् ।


शर्माले सर्कलका संरक्षक रामबहादुर मोचीलाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै रेडक्रसका शर्माले कास्की मोडनाइज्ड जस्तो निजीस्तरबाट सञ्चालित विद्यालयले पछिल्लो परिस्थितिलाई बुझेर रक्तदान कार्यक्रम अयोजना गर्नु आफैैंमा गौरव भएको बताए । विद्यालयले यस्ता उदाहरणीय कार्यहरु गर्दै अघि बढ्न उनले शुभकामना दिए ।

Advertisement


विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले वर्तमान अवस्थामा रक्तदान जस्तो महानकार्यमा सहभागी हुँदा खुसी लागेको बताए । वर्तमान अवस्थाको कार्यक्रम सुरुवातमात्र भएपनि आवश्यकता अनुसार अझै धेरै कार्यक्रम गर्दै जाने बताए ।

विद्यालयका सहायक प्राचार्य शिवलाल उपाध्यायले रक्तदानको महत्वको बारेमा बोलेका थिए । कार्यक्रमका संयोजक निरोज केसीले छोटो समयको तयारीमा ५६ युनिट रगत संकलन गर्न सकिएकोमा अभिभावक, शिक्षक कर्मचारी र प्राविधिक सबैलाई धन्यवाद दिए ।

Advertisement

कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्राविधिक यमुना केसीले रक्तसञ्चार केन्द्रको प्रमाणपत्र विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् । विद्यार्थी कृतज्ञकुमार मानन्धरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिलन तिमिल्सिनाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया