सम्पादकीयः बाँदरको उपद्रो नियन्त्रण चुनौती

समाधान संवाददाता २०८० माघ २१ गते १४:२९

जसै गाउँगाउँमा जंगल बढ्यो र मानिसहरु सहरतिर बसाइ सरे, त्यतातिर रजाइँचाहिँ बाँदरले गर्न थालेको छ । नेपालको कुनै एउटा गाउँ नहोला, जहाँ अहिले बाँदरको आतंक नहोस् । यसै त बसाइ सराइले गाउँका खेतबारी बाँझो भएका थिए र त्यहीं रुखपात उम्रिएर जंगल बन्न थालेको थियो । त्यसमाथि जनसंख्या कम भएपछि बाँदरको संख्या झन्झन् बढेको छ । गाउँमै बसिरहेकाहरुले पनि खेतीपाती गर्न पाएका छैनन् । वर्षभरिको दुख बाँदरले खाइदिने भएपछि जाँगर कसैमा छैन ।

खेतबारी झन् बाँझो हुन थालेको छ । जंगलमा आहार नपाएर गाउँघर पस्ने बाँदरले त्यहाँ पनि केही नपाउँदा मानिसका घरघरै पसेर उधुम मच्चाइरहेको छ । गएको चुनावमा मात्रै होइन, त्यसअघि अर्थात २०७४ सालको स्थानीय निर्वाचनमा पनि धेरै गाउँठाउँका बासिन्दाले विकास निर्माणभन्दा पहिला बाँदर आतंक नियन्त्रणको माग गरेका थिए । कतिले अठोट गरे, कतिले गरेनन् । अठोट गरेर चुनाव जितेकाले पनि बाँदर आतंकमाथि विजय पाउन सकेनन् । तिनको केही जोर चलेन । आतंक निरन्तर छ ।


हालैका दिनमा पोखराका एउटा वडाका अध्यक्षले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सुरु गर्दा आलोचित भए । तुरुन्तै उनको अभियानको निर्णय फिर्ता पनि भयो । कास्कीकै एउटा गाउँपालिका रुपाले कुनै बेला बाँदर समातेर चितवन लगायत जंगल पठाउने ग¥यो, तर एक वर्षभन्दा अर्काे वर्ष त्यो उपायले काम गरेन । पर्वतका गाउँतिर बाँदर धपाउन पालो लगाउने गरिएको छ । नेपालमा मात्रै होइन, भारत र श्रीलंकातिर पनि बाँदरको उपद्रो उस्तै छ । भनिन्छ बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि भत्काउँछ । तर, सोचनीय कुरा के हो भने बाँदरको घर जंगल हो, जहाँ ऊ खान्थ्यो, खेल्थ्यो रमाउँथ्यो । अचेल वनजंगलमा बाँदरको आहार छैन । अनि ऊ गाउँतिर बस्छ र मानवसँग द्वन्द्व गरिरहेको छ ।

Advertisement


पृथ्वी मानिसको मात्रै होइन, सबै प्राणीको घर हो । सबैले खान र बस्न पाउनुपर्छ । तर मानिसै मानिसले पृथ्वी भरिँदा वनजंगलका वन्यजन्तु लगायतको अस्तित्वमाथि चुनौती छ । कति त लोप भइसके । कति लोप हुने चरणमा छन् । बाँदरको संख्या भने बढेकै हुनुपर्छ । आखिर प्रकृतिको नियमै छ—जसले संघर्ष गर्न सक्छ, ऊ नै बाँच्छ । बाँदर अहिले त्यही संघर्षमा छ । बाँदर नियन्त्रणका लागि अर्थात उसले जे गरेर हामी उसलाई उपद्रो मच्चाइरहेको छ भनिरहेका छौं, त्यसका निम्ति उसैको बासस्थान अनुकुल बनाइदिनुपर्छ ।

रुख काट्ने होइन फलफूलका रुख हुनुपर्छ । बाँदरका लागि आहाराको व्यवस्था गरिदिनुपर्छ । बाँदर प्राकृतिक सन्तुलनका लागि आवश्यक प्राणी हो भन्ने नबुझी उसको नियन्त्रणको कुरामात्रै गर्न अप्राकृतिक र अवैज्ञानिक कुरा हो । अर्काे कुरा साँच्चीकै बाँदरको संख्या अत्यधिक भएर अनियन्त्रित भएको हो भने सबैभन्दा पनि त्यो तथ्य जाँच गरी अरु उपाय पनि रच्न सरकारले नै कदम चाल्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया