पूर्व सांसद इच्छाराजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद

समाधान संवाददाता २०८० माघ २२ गते १४:४५

काठमाडौं ।
पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो बमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।


विशेष अदालतले सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो । उक्त सजाय अनुसार कैद र बिगोका लागि आइतबार पेसी तोकिएको हो ।


विशेषले ३ वर्षभन्दा माथि सजाय गर्नुपर्ने भएकाले आइतबार बहस हुँदै सजाय सुनाएको हो । तामाङ एमालेबाट संविधानसभा सदस्य बनेका थिए । उनकी श्रीमती श्रृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद हुने र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

Advertisement


अर्का प्रतिवादी केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला सुनाएको छ । प्रतिवादी इच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला विशेषले सुनाएको छ । प्रतिवादीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने फैसलामा भनिएको छ ।


विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी तामाङ सहित उनको परिवारका केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको थियो ।

Advertisement


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो । विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ ।

तामाङका छोरीहरु प्रतीक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ । कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया