मुक्तकिलो पोखरा

उपेन्द्र पौडेल २०८० माघ २२ गते १५:१७

भारतीयपूर्व राष्ट्रपति एपिजे अब्दुलकलाम भन्थे सपना त्यो होइन,जो सुतेको बेला देखियोस् । सपना त त्यो हो, जसले सुत्नै नदियोस् । आफूभन्दा केही वर्ष जेठो संस्थाको अध्यक्षीय जिम्मेवारी काँधमा आइपर्दा केहीयस्तै निद्रा विहिन रातहरु गुजारेको थिएँ र किस्ता किस्तामा केही निद्रा विहिन सपनाहरु बाँचीरहेछु । टिकटमा मुक्तक कार्यक्रम त्यही आँखा खोलेर देखेको सपना हो हाम्रो कार्यकालका लागि । खुला आँखाले सपना देख्नुको सौन्दर्य के हो भनेर बुझ्न ती सपनाहरु यसरी विपनामा परिणत भएको अनुभूत गर्नुपर्छ । आजको कार्यक्रममा म त्यही खुसीको क्षण तपाईहरु माझ पोख्न र स्वागत गर्न उभिएको छु ।


आज यो भव्य सेट र यो भरिभराउ हलमा यो कार्यक्रम गरिरहँदा जति उत्साहित छु, उति नै भावुक र अझ बढी रोमाञ्चित छु । कसैले आफ्नो प्रेमको लगभग आधा शताब्दी बाँचेर पछाडी फर्केर पहिलो पटक प्रणयको रात सम्झँदा जति रोमाञ्चीत हुन्छ, लगभग ४५ वर्षको सन्तानलाई अंगालोेमा बेरेर उसको जन्मदिनको त्यो पहिलो च्याच्याँ रुवाइ सम्झँदा उसकी आमा जति पुलकित हुन्छिन्, आज यो पलमा टिकटमा मुक्तकको पहिलो कार्यक्रमको सम्झनाले म पनि उत्तिकै रोमाञ्चित र पुलकित भएको छु ।


पहिलोपटक टिकटमा मुक्तक भएको ठिक ४५ बर्ष भएको छ । एउटा तुल टाँसेर २ रुपैयाँको टिकटमा चलेको कार्यक्रम आज यत्तिका मानिसको उपस्थीतिमा यो भव्य हलमा तपाइहरुलाई साक्षी राखेर गर्न पाउँदा पोखरेली युवा साँस्कृतिक परिवारले गौरवबोध गरेको छ । ह्याप्पी एनिभर्सरी टु अस फर दिज ग्लोरियस इयर्स । टिकटमा मुक्तकको यो ४५ औ वर्षगाँठको हामी सबैलाई शुभकामना !

Advertisement


जमाना सोसल मिडियाको छ । तपाईंले लेखेको रचना पोष्ट गरेर क्षणभरमै केही कमेन्ट र लायक बटुल्न र संसारभरका पाठकलाई पढाउन खासै समय लाग्दैन । त्यसैले टिकटमा मुक्तक कार्यक्रम अहिले हेर्दा उस्तो खास नहोला । तर कल्पना गर्नुस् त ! ‘कवि, लेखक र कलाकार खासमा बोर गर्छन् । जबरजस्ती रचना सुनाउँछन ।

रचनाको पनि मूल्य हुन्छ भनेर टिकटमा कार्यक्रम गर्नु र अभिव्यक्त स्वतन्त्रता मन नपराउने व्यवस्थाको नाकमै उभिएर अभिव्यक्ति स्वतन्त्रताका लागि रचनावाचन गर्नु कत्रो आँट र साहस !

Advertisement

यो अनुत्पादनशील क्षेत्रमा लागेकाहरु दुखी जिन्दगी बाँच्छन र अरुको पनि समय बर्बाद गर्छन् ।’ भनेर अक्सर लेखक कलाकारलाइ र साहित्यलाई बुझिने त्यो समय र जर्जर पश्चायती व्यवस्था । त्यस्तो कठिन बेलामा रचनाको पनि मूल्य हुन्छ भनेर टिकटमा कार्यक्रम गर्नु र अभिव्यक्त स्वतन्त्रता मन नपराउने व्यवस्थाको नाकमै उभिएर अभिव्यक्ति स्वतन्त्रताका लागि रचनावाचन गर्नु कत्रो आँट र साहस ! यो कार्यक्रम यसै कारणले पनि ऐतिहासीक बनेको छ ।


१३ शताब्दीको कुनचाहिँ संरचना अहिले संसारमा बाँकी होला ? तर १३ शताब्दीमै सुरु भएको सुफी संगीत आज पनि संसारभरका संगीत पारखीका कानमा गुञ्जिरहन्छन् ।


समृद्ध सहरको परिकल्पनामा गर्दा स्टील कंक्रिटका अग्लाभवन, पुलपुलेसा या बाटोघाटोको आँखीझयालबाट मात्रै हेर्ने गरिन्छ । त्यसैले त अझै पनि व्यक्तिहोस वा सरकार अग्लो झण्डा, त्रिशुल वा भ्यूटावरमा अल्झेको देखिन्छ । तर आत्मा नभएको शरीर के कामको हुन्छ र ? एकमुठी सास भएन भने जसरी २०६ वटा हड्डी, हजारौ नशा र अनगिन्ती रक्तकोषको यो शरीर बेजान भएर लडछ्, त्यसैगरी कला साहित्य संगीत र संस्कृति विना कुनै पनि सहर समृद्ध हुनै सक्दैन । भजन नगुन्जने मन्दिर, परित्राण नगुन्जने गुम्बा र आजान नगुन्जने मस्जीद खाली भग्नावशेष मात्रै कहलाउँछन । खासमा भौतिक समृद्धि शहरको शरीर हो र कला साहित्य र संगीत त्यसको आत्मा । आज हामी पोखराको आत्माको उत्सवमा छौ ।


मित्र दीपक सिञ्जालीको रियल डिजाइनको प्रिन्टरबाट निस्किएका टिकट नामका कागजका टुक्राहरु जब तपाइहरुको हातमा पुग,े ती फगत कागजका टुक्रा मात्रै रहेनन, ती प्रेमले भरिएका सुन्दर प्रेमपत्र बने । शब्दको उत्सव मनाउन, भाषाको सुन्दरतालाई अँगाल्न र शब्दहरूमा जीवन भरेपछी मुक्तकका रुपमा शब्दको सुन्दर नृत्य माथि तपाईंहरुको मायाको साझा प्रतिबद्धताको प्रतीक बने । तपाईंको हातहातमा भएका प्रेम पत्रलाई एकपटक फेरि स्पर्श गरिदिनु होला ! म तपाइको आँखामा देखिएको साहित्यमाथिको यो प्रेमलाई आजन्म कैद गर्न चाहान्छु । आज यहाँ तपाईंको उपस्थिति साहित्यको सामूहिक प्रशंसाको प्रमाण हो, र तपाइहरुको उपस्थितीले हामी सम्मानित महसुस गरिरहेछौ ।


कार्यक्रमको तयारी सजिलो थिएन । तर हाम्रो होष्टेमा हैसे गरिदिने तपाइको सहयोग र उत्साहले हामीले यो कार्यक्रम यसरी आँट्न सक्यौ । पोखरा महानगरपालीका र यहाँका नगरप्रमुख श्रदेय धनराज आचार्यज्यूकाप्रतिआभार । त्यसैगरी पोखरा प्रज्ञाप्रतिष्ठान, प्रगति माध्यमिक विद्यालय, इन्फोम्याटिक्स कलेज र आदरणीय प्रधुम्न सर, कस्मीक कम्प्युटिङ र मित्र प्रेम दिप, टार्गेट इन्टरनेशनल एडुकेशन र मित्र भुवन क्षेत्री, पोखरा महानगरपालीका वडा नं १ का अध्यक्ष सहारा प्रधान, दुइ का दिवसमान प्रधानांग, तिनका प्रकाश उदास र ९ का दिपेन्द्र मर्सानी एवम रिर्डस कर्नरका विजयभण्डारी र पोखरा उद्योग वाणिज्य संघलाई पनि हार्दिक आभार ।

कार्यक्रमलाई घरकै कार्यक्रम सम्झेर मेहनत गर्ने सम्पूर्ण कार्यसमितिको अथक मेहनतको परिणाम हो आजको कार्यक्रम । पूर्व अध्यक्ष भएर पनि कार्यसमिति सदस्य झैं नै खटिने पूर्व अध्यक्ष र सल्लाहाकारहरुकोे मेहनतको रंग पनि हो आजको कार्यक्रम । उहाँहरु सबकाप्रति पनि आभार ।


दश वर्षको लामो अन्तरालपछिको आजको टिकटमा मुक्तक कार्यक्रमको आफ्नै खाले महत्व छ । यो बीचमा पोखरेली युवा साँस्कृतिक परिवार निदाएर कार्यक्रम नगरेको पक्कै होइन । हामीसित निद्रा थिएन, तर एकखाले वेचैनी थियो । भुकम्पको मार, नाकाबन्दी, कोरोनाको कारण भएको लकडाउन र त्यसले लामो समयसम्म बिथोलिदिएको हाम्रो मनस्थिति । यो सबको बीचमा टिकटमा मुक्तक कार्यक्रम जस्तो ऐतिहासिक कार्यक्रमलाई निरन्तरता दिन नसकिएको जरुर हो । अबका दिनहरुमा यति लामो अन्तराल रहनेछैन भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु ।


त्यसो त यो स्वागत तथा धन्यवाद मन्तव्यको मेसो हो । खासमा यो पोखरा र पोखराको साहित्यसँग जोडिएको एउटा ब्राण्डिङ कार्यक्रमको मेलो हो । ‘न्याय नपाए गोर्खा जानु भने जस्तै मुक्तक सुन्न पोखरा जानु’ भन्ने कथनलाई फेरि जागृत गर्ने जमर्को हो । मुक्तकको यो कुम्भमेलामा मेला भर्न आउनुभएका तपाईहरु सम्पूर्णलाई फेरि एकपटक स्वागत गर्न चाहन्छु । जय टिकटमा मुक्तक कार्यक्रम !

पोखरेली युवा सांस्कृतिक परिवारले माघ २० गते शनिबार आयोजना गरेको टिकटमा मुक्तक कार्यक्रममा परिवारका अध्यक्ष उपेन्द्र पौडेलले राखेको मन्तव्य

तपाईको प्रतिक्रिया