माछापुच्छ्रे र समीर सुनचाँदीलाई उपाधि

समाधान संवाददाता २०८० माघ २२ गते १५:४९

पोखरा ।
पुन समाज नेपालको आयोजनामा भएको खुला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेका छन् । शनिबार भएको महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।


माछापुच्छ्रेले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छे्रले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा कावासेतीले ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।


भेट्रानतर्फको फाइनल खेलमा पोखरा भेट्रानले सिद्धिकाली शुक्लागण्डकीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुम्यो । पोखरा भेट्रानले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१३ ले जिते पनि तेस्रो सेटमा २८–३० को हार व्यहोर्‍यो । चौथो सेटमा २५–२१ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

Advertisement


पोखरा भेट्रानले ३३ हजार ३ सय ३३ रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । विधागत पुरस्कारमा समेत माछापुच्छ्रेको एक्लौटी रह्यो । महिलातर्फ सर्वोत्कृष्ट खेलाडी माछापुच्छ्रे गाउँपालिकाकी कविता गर्वुजा पुन घोषित भइन् । उनी उत्कृष्ट स्पाइकरसमेत भइन् ।


उत्कृष्ट ब्लकर ममता राना, उत्कृष्ट लिफटर निरु पुन र उत्कृष्ट डिफेन्स सरिना गुरुङ घोषित भइन् । कावासेतीकी धिमा पाइजा उत्कृष्ट सेटर घोषित भइन् । भेट्रानतर्फ सन्तोष श्रेष्ठ, ब्लकर रविन केसी, डिफेन्डर गुप्तराज गुरुङ, सेटर भीम बहादुर गुरुङ र स्पाइकर सन्तोष श्रेष्ठ घोषित भए ।

Advertisement


पुरुषतर्फको फाइनल खेलमा समीर सुनचाँदी टसमा विजयी भयो । पुरुषतर्फको खेलको खेल प्रकाश अभावका कारण रोकिएपछि अन्तिम टुंगो टसमार्फत भएको हो । पुरुषतर्फ समीरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा समीर सुनचाँदीले २५–२० को नतिजा निकालेको थियो । तर प्रकाश अभाव भएपश्चात खेल स्थगित भएसँगै निर्णय टसमार्फत भएको हो ।


पुरुषतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने भए पनि पुरस्कार राशि भने आधा आधा बाँडेका छन् ।

तपाईको प्रतिक्रिया