गण्डकी प्रदेशसभाको स्थापना दिवसमा सांसदकै बेवास्ता, २५ जना गयल

सञ्जय रानाभाट २०८० माघ २३ गते १०:३७

पोखरा ।


गण्डकी प्रदेशसभाको छैटौं स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा झन्डै आधा प्रदेशसभा सदस्यहरु अनुपस्थित भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभाका २५ सांसद कार्यक्रममा गयल भए । २०७४ माघ २२ गते पहिलो बैठक बसेको मितिका आधारमा गण्डकी प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।


संघीयता कार्यान्वयन स्वरुप स्थापित प्रदेश सभाको विशेष दिनमा सांसदै अनुपस्थित भएको बेला यस्तो परेको छ कि मुलुकमा संघीयता र प्रदेश संरचनाको औचित्यमाथि प्रश्न चर्काे छ प्रदेशसभा सचिवालयका अनुसार कार्यक्रममा पहिलो र दोस्रो कार्यकालका सांसद तथा पदाधिकारीलाई निमन्त्रण गरिएको थियो ।

Advertisement


पूर्व बहुसंख्याक सांसदले पनि प्रदेश सभा स्थापना दिवसमा सहभागी बन्न रुचि देखाएनन् । पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कृष्णचन्द्र नेपाली पोखरेल नै स्थापना दिवस मनाउन उपस्थित भएनन् । यद्यपि दुवै जनाले स्थापना दिवसमा उपस्थित हुन नसक्ने जानकारी गराएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । ‘संस्थापक मुख्यमन्त्री गुरुङले सोमबार नै प्रतिनिधि सभाको बैठक भएकाले आउन नसक्ने जानकारी गराउनुभएको थियो । भने कृष्णचन्द्र नेपाली पोखरेलज्यूले स्वास्थ्य अवस्थाका कारणले आउन नसक्ने पूर्व जानकारी दिनुभएको थियो,’ सभामुख धितालले भने । प्रदेश सभा स्थापना दिवसमा बहालवाला उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा अनुपस्थित रहे । प्रदेश सभाले मुख्यमन्त्री, मन्त्रीदेखि प्रदेशसभा सदस्यहरु सबैलाई औपचारिक निमन्त्रणा गरे पनि मन्त्री थापा अनुपस्थित भएका हुन् ।

अन्य मन्त्रीहरु उपस्थित थिए । स्थापना दिवसलाई राप्रपाले पनि अवज्ञा नै गरेको छ । दुई सांसद रहेको गण्डकी प्रदेश सभामा संसदीय दलको नेतामा पञ्चराम गुरुङ छन् । उनलाई सचिव हरिराज पोखरेलले संसदीय दलकोतर्फबाट बोल्ने समय दिएपनि उनको उपस्थिति नरहेको हो । राप्रपाको गण्डकी प्रदेशमा अर्की सांसद विन्दु अधिकारी पहाडी दलको प्रमुख सचेतक छिन् । उनी पनि प्रदेश स्थापना दिवसमा गयल भइन् । दुवैले प्रदेशसभाबाट दलको नेता र प्रमुख सचेतकको हिसाबले प्रदेश सभाबाट गाडी सेवा सुविधा लिँदै आएका छन् । तर, सोमबार स्थापनाको अवसरमा आयोजित कार्यक्रममा दुवै अनुपस्थित भए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अधिकांश प्रदेशसभा सांसदहरु पनि कार्यक्रममा उपस्थित भएनन् ।

Advertisement

  • ६० सदस्य रहेको गण्डकी प्रदेश सभाका ३५ सांसद उपस्थित
  • उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङ र सचेतक विन्दु अधिकारी पहाडी अनुपस्थित
  • प्रदेश मामिला तथा कानुन समिति सभापति चम्पादेवी खड्का, कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने र माओवादी केन्द्रकी प्रमुख सचेतक कसुम बुढा पुन लगायत अनुपस्थित


संसदीय दलको नेतातर्फ राप्रपाका पञ्चराम गुरुङ मात्र अनुपस्थित रहे । प्रदेश मामिला तथा कानुन समिति सभापति चम्पा देवी खड्का अनुपस्थित रहिन् । कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने पनि अनुपस्थित रहे । यस्तै, माओवादी केन्द्रकी प्रमुख सचेतक कसुम बुढा पुन पनि अनुपस्थित भइन् ।


सांसद भक्तबहादुर कुँवर, भेषबहादुर पौडेल, मित्रलाल बस्याल, मुनिन्द्रजंग गुरुङ, यशोदा रिमाल, राजकुमार भुजेल, राजीव गुरुङ गयल थिए । लक्ष्मणबहादुर पाण्डे, लीलबहादुर थापा मगर, बिमला गौचन, सरस्वती गुरुङ, श्यामराज महत, जीतबहादुर शेरचन, टंकराज गुरुङ, डिल्लीराम सुवेदी, दमयन्ती रुचाल, नम्डु गुरुङ, पदम जिसी श्रेष्ठ, विकल शेरचन अनुपस्थित रहे । प्रदेश सभाले उठाएको हाजिरीमा उनीहरुको हस्ताक्षर नभेटिएको प्रदेश सभा सचिवालयले जानकारी दियो । संसद र समितिका बैठकमा उपस्थित भए सांसदहरुले भत्ता पाउँछन् । सोमबारका कार्यक्रमका लागि भने भत्ता थिएन ।


सभामुख धितालले उपस्थित हुने नहुने कुरा स्वयं सांसदहरुले मनन गर्ने कुरा भएको बताए । ‘स्थापना दिवस हिजो जस्तै निरन्तरता हो । विगतको जस्तै,’ उनले भने, ‘प्रदेश सभा अहिले बन्द छ । सबै माननीय गाउँमा हुनुहुन्छ होला । सदन चलेको भए सबै माननीय उपस्थित हुनुहुन्थ्यो होला । तर पनि उपस्थित हुने नहुने उहाँहरुले मनन गर्ने कुरा हो ।’


संसद बन्द रहेपछि अहिले संसदीय समितिले लगातर बैठक आह्वान गरिरहेको छ । समितिहरुले सरकारलाई खबरदारी समेत गरिरहेका छन् । तर, पनि सांसदहरुले स्थापना दिवसमा उपस्थित नहुनु दुखद भएको केही सांसदहरु नै बताउँछन् । कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ प्रमुख अतिथि थिए । कार्यक्रममा पूर्व उपसभामुख सिर्जना शर्मा र पूर्व सभामुख नेत्रनाथ अधिकारीको उपस्थिति थियो । सभामुख र उपसभामुखसँगै १२ पूर्व सांसदहरुको उपस्थिति रहेको हो ।


‘कानुन बनाएर जाऔं, आइपर्ने समस्या सामना गरौंला’
गण्डकी प्रदेश सभा स्थापनाको ६ वर्ष पूरा भएको छ । संसद् स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संघले अधिकार नदिए खोसेर लिनुपर्ने बताएका छन् । उनले संघ सरकार अधिकार दिने कुरामा उदासीन रहेकाले प्रदेश सरकार संघ सरकारको मुख ताकेर बस्न नहुने बताए । उनले देशको संघीयता मौलिक रहे पनि केन्द्रीय नेताका कारणले प्रदेशले अधिकार नपाएको बताए । ‘संघीयता अधिकारको बाँडफाँड हो । तर, प्रदेश संरचना अधिकार नदिएकै कारण चपेटामा परेको छ,’ उनले भने, ‘अब संघको मुख ताकेर बस्नु हुँदैन । प्रहरी ऐन, निजामती ऐन प्रदेशले जारी गुर्नपर्छ । भोलि के के हुन्छ । सँगै मिलेर सामना गरौंला ।’


उनले यो छोटो अवधिलाई मूल्यांकन गरेर संघीयता ठिक छैन भन्नु गलत भएको बताए । यस्तै उनले सुस्ता र बर्दघाटपूर्वको भूमि गण्डकीले पाउनुपर्ने माग राखिएको छ । नपाए मुद्दा हाल्नुपर्ने उनको भनाइ थियो । ‘संविधानमा सुस्ता र बर्दघाट हाम्रो प्रदेशको हो । संविधान अनुरुप नभए हामी मुद्दा हाल्न पछि पर्नुहुँदैन,’ अधिकारीले भने । उनले सुस्ता बर्दघाट गण्डकीलाई नदिने भए संविधान संशोधन गर्नुपर्ने पनि बताएका छन् । ‘सहजै पाइएन भने लड्न तयार छौँ, संसदबाट संकल्प प्रस्ताव पास गरेर भए पनि हाम्रो भूमि ल्याउँछौं,’ उनले भने ।


कार्यक्रममा उपसभामुख बिनाकुमारी थापाले प्रदेश संरचनाको साख जोगाउँदै सरकार अघि बढ्नुपर्ने बताइन् । उनले योग्य कानुनको निर्माण गर्न सांसदहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए । पूर्वसभामुख नेत्रनाथ अधिकारीले आफ्नो कार्यकालमै प्रदेशमा प्रहरी ऐन र यातायात ऐन बनेपनि अझै लागु नहुनु दुखद भएको बताए । उनले प्रदेशको अधिकार प्राप्त गर्ने कुरामा आफ्नो साथ रहेको जनाए ।


माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले संघीयताको मेरुदण्ड प्रदेश संरचना भएपनि अधिकार नदिनु दुखद भएको बताए । उनले साझा अधिकारका सूचिमा रहेका कानुन निर्माणमा पहल गर्ने प्रतिवद्धर्ता जाहेर गरे । सभामुख धितालले हालसम्म ६६ वटा कानुन निर्माण भएको र यसलाई कार्यान्वयन गर्न अब सरकारले काम गर्नुपर्ने बताए । उनले केही कानुनहरुलाई परिमार्जित गर्न आवश्यक रहेको पनि औंल्याएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूहरु अधिकारको लडाइँमै रहेकाले छिट्टै केन्द्र सरकारले ती अधिकार प्रदेशलाई दिने विश्वास व्यक्त गरे । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको औचित्य पुष्टि गर्न सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले सरकारलाई जनपक्षीय काम गर्न पनि आग्रह गरेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया