हिमचितुवाले मुस्ताङ ९ च्यांग्रा मार्‍यो

सुन्दरकुमार थकाली २०८० माघ २४ गते १०:४७

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ३ घ्याकर गाउँमा हिमचितुवाले ९ च्यांग्रा मारेको छ । स्थानीय सन्दुक गुरुङको घर नजिकैको च्यांग्रा खोरमा पसेर हिमचितुवाले ३६ च्यांग्रामध्ये ९ वटा मारेको हो ।


मध्य रातमा स्थानीय गुरुङको खोरभित्र पसेर हिमचितुवाले च्यांग्रा मारेको र ६ वटा घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भाोजराज पाण्डेले जानकारी दिए । हिमचितुवाले १९ च्यांग्रामा क्षति पु¥याउँदा स्थानीय सन्दुक गुरुङको अन्दाजी ५ लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।


यो सूचना प्राप्त भएसँगै मंगलबार इलाका प्रहरी कार्यालय छुसाङबाट ४ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । टोलीले घटनास्थलको विवरण संकलन गरी सोको मुचुल्का जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको छ । इलाका प्रहरी कार्यालय छुसाङदेखि हिमचितुवाले च्यांग्रा मारेको स्थान १० किमी उत्तरतर्फ पर्छ ।

Advertisement


राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्रधिकार भित्र पर्ने मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको छ । हिमचितुवा तथा वन्यजन्तुको आक्रमणले पशुपालक किसानलाई निकै ठूलो सास्ती दिएको छ । स्थानीयको पशुपालन व्यवसाय नै संकटमा पर्न थालेको छ ।


कात्तिक २४ गते मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ ढाक्मरमा स्थानीय छिरिङ गुरुङको एउटै खोरका ७९ च्यांग्रा हिमचितुवाले मारेको थियो । मुस्ताङमा हिमचितुवा तथा वन्यजन्तुले भेडा/च्यांग्रा, याक, चौरी, घोडा, झोपा र गाईलाई मार्ने, खाने गरेका छन् । थासाङ गाउँपालिकामा वन्यजन्तुले स्थानीय किसानले लगाएको बालीनाली समेत बर्सेनि क्षति बनाउने गरेको छ ।

Advertisement

एक्यापले वन्यजन्तुले क्षति बनाएको पशुधन तथा बालीनालीको क्षति मूल्यांकन गरी राहत उपलब्ध गराउने गर्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया