म्याराथनका लागि एनआरएनएको साढे ७ लाख

समाधान संवाददाता २०८० माघ २४ गते ११:१३

पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्च र गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी) बीच तीन वर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनएसँग ३ वर्षका लागि प्रायोजन सम्झौता भएको हो ।


पोखरामा मंगलबार आयोजित कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौतासँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी ३ वर्षका लागि सहयोग गर्ने हुनेछ । सो रकमवापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर बोर्ड खरिदसमेत मञ्चलाई हस्तान्तरण गरिसकेको छ ।


म्याराथन रुटमा हुने ३ सेन्सर बोर्डमध्ये एनआरएनएले १ उपलब्ध गराउने भएको हो । एनआरएनएको तर्फबाट एनआरएनए आइसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष लेरि चन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौतापत्र आदानप्रदान गरेका थिए । एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने छ ।

Advertisement

एनआरएनले म्याराथनका लागि सो रकम बराबरको सेन्सर बोर्ड किनेर आयोजकलाई हस्तान्तरण गरिसकेको छ


एनआरएनए आइसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष गुरुङले सुरुवाती ३ वर्षका लागि जोडिएपनि यसले त्यसपछि समेत निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफूहरु पोखरा म्याराथनसँग यसअघि पनि जोडिएको तर बिचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको सुनाए ।

Advertisement


सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेका कारण भविष्यमा यसले विश्वकै उत्कृष्ट म्याराथनको रुपमा परिचित हुनेमा आफूहरु आशावादी रहेको उनले उल्लेख गरे । एनआरएनले पोखरा म्याराथनमा विजेता हुने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिमसमेत प्रतिस्पर्धीका रुपमा पोखरा म्याराथनमा सहभागिता हुने जनाए ।


मञ्चका अध्यक्ष पराजुलीले एनआरएनएसँग १४ वर्षपछि पुनः भेट भएको बताउँदै आगामी ३ वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने बताए । पोखरा म्याराथनको व्यवस्थापनको पाटो निकै कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिक रुपमा समेत सहयोग गर्दा थप टेवा पुगेको उनको भनाइ छ ।


१४ वर्षपछि इतिहास दो¥हाउँदै एनआरएनए पुनः पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा जोडिएको हो । मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ यसको श्रेय एनआरएनए युकेका पूर्व अध्यक्ष एवं एआरएनए आइसिसीका सल्लाहकार सूर्य गुरुङलाई दिन्छन् । सूर्य गुरुङ कुनै बेला पोखरा रंगशालाको पर्खाल निर्माणका युके संयोजकसमेत थिए ।

उनकै पहलमा एआरएनए आइसीसीका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, उपाध्यक्ष एवं स्पोर्टस टास्क फोर्सका अध्यक्ष रोशन कार्की, महासचिव गौरी जोशी र सदस्य ले.रि चन्द्र गुरुङ बीच भएको लामो छलफलपछि एआरएनए आइसीसी पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग जोडिएको हो ।


‘यो निकै लामो छलफल थियो,’ निवर्तमान अध्यक्ष गुरुङले भने, ‘यसले समग्रमा विश्वभरी छरिएर रहेका नेपाली र उनका परिवारलाई वर्षको एक पटक पोखरा म्याराथनमा सहभागिता जनाउने मात्रै नभई प्रतिस्पर्धीको रुपमा सहभागिता हुनेछ ।’


म्याराथनमा गण्डकी प्रदेशतर्फ प्रथम हुने खेलाडीका लागि मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटको परिवारले प्रायोजन गर्ने भएको छ । मंगलबार नै उनले आफ्नी श्रीमती मणिपाल शिक्षण कलेजकी प्रमुख सकुसिंह रानाभाटको तर्फबाट प्रायोजन गर्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया