अग्रणी डाक्टर

रवीन्द्र माकाजू २०८० माघ २४ गते १२:२९

पोखराको स्वास्थ्यक्षेत्रको चर्चा गर्दा बिर्सनै नमिल्ने नाम हो– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापा । अहिले उनलाई बिमारी जाँच्नलाई भ्याईनभ्याई छ । प्रायः बिमारी उनलाई नै खोज्ने गर्दछन् । स्वास्थ्य, शिक्षा क्षेत्रको सर्वोच्च प्राज्ञिक पद उपकुलपतिमा आसिन हुँदा पाएको जिम्मेवारी पूरा गर्न कर्तव्य परायणतापूर्वक खटे उनी ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको हातामा क्रमशः भौतिक संरचना निर्माण गरी थप विषयको पढाइ थप्ने सोचमा थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न कम्तीमा ३०० बेडको अस्पताल आवश्यक पर्ने हुँदा सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदा आवश्यक तयारी गर्न सजिलो भएको उनको अनुभूति छ ।


प्राडा थापाले स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका छन् । ०४१ मा मुस्ताङ जिल्लामा नेपाल सरकारको कर्मचारीका रुपमा खटिएका प्राडा थापाले ०५१ बाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फिजिसियन भएर सेवा पुर्‍याए । ०६४ देखि ०७० सालसम्म सोही अस्पतालको मेडिकल सुपरिटेन्डेन्छ भएर सरकारी सेवाबाट निवृत्त पाईसकेका प्राडा थापालाई नेपाल सरकारले ०७२ फागुन १८ गने पोखरा स्वास्थ्य विज्ञान प्रतिठानको उपकुलपति बनाएर योग्यताको उचित रुपमा कदर गर्‍यो ।

Advertisement


२०१२ असार ५ गते तनहुँको तत्कालीन उदेनढुंगा गाउँ पञ्चायत (हाल शुक्लागण्डकी नगरपालिका) मा जन्मिएका थापाले गाउँकै निर्मल प्राविबाट कक्षा ५ पास गरेका थिए । आफ्ना पितासँगै भारतको आसाम पुगेर ८ कक्षासम्म त्यहीँ पढे । त्यसपछि खैरेनी माविमा ९ र १० कक्षा पढे । ०२९ सालको एसएलसी परीक्षामा बोर्ड थर्ड भएर आफ्नो विलक्षण प्रतिभा प्रर्दशन गरे ।

गरिब तथा पछि परेको वर्गले कहिलेकाँही औषधी, उपचार गर्न नसकेको क्षण देख्नुपर्दा उनको मुटु भक्कानिन्छ

Advertisement


८ कक्षामा पढ्दै गर्दा पिता कर्णबहादुरको देहावसानले ठूलो चुनौती सामना गर्नुप¥यो । उनी नेपाल फर्कनु पर्‍यो । एसएलसी पास गरेपछि उनी थप अध्ययनका लागि काठमाडौको अमृत साइन्स कलेजमा ०३२ सालमा भर्ना भए । कोलम्बो प्लान अन्तर्गत एक नम्बरमा छनोट भई मित्र राष्ट्र भारतको विहार (हाल झारखण्ड) राँचीस्थित राजेन्द्र मेडिकल कलेजमा पढ्न छात्रवृति पाए ।
प्राडा बुद्धिबहादुर थापासँग सामुदायिक अस्पताल, सरकारी अस्पताल र निजी अस्पताल सञ्चालन गरेको लामो अनुभव छ । उनले आफू जन्मेको स्थान शुक्लागण्डकी नगरपालिकामा महायज्ञको संयोजन गरी सेतीगंगा सामुदायिक अस्पताल खोल्न महत्वपूर्ण भूमिका खेले । अस्पताललाई सुविधा सम्पन्न बनाउन विभिन्न दातृ निकायसँग आर्थिक सहयोग (उपकरण) मागे ।

अहिले शुक्लागण्डकी सामुदायिक अस्पताललाई संघीय स्तरको नेपाल सरकारले जिपी कोइराला स्वासप्रश्वास राष्ट्रिय उपचार केन्द्र नामाकरण गरेको छ । प्राडा थापा ती पुराना दिनलाई स्मरण गर्दै भन्छन्– सामुदायिक अस्पताल बनाउन जनताले डेढ करोडभन्दा बढी चन्दा दिएकाले त्यो इतिहासलाई जीवित राख्न त्यहाँ महायज्ञ कृर्तिस्तम्भ बनाउँदा राम्रो हुन्छ ।


डाक्टर बन्नुअघि उनले डेढ वर्ष गणित, विज्ञान विषय पढाएका थिए । उनी पोखराका पुराना डाक्टर कुमारसम्शेर राणालाई प्रेरणाको स्रोत मान्छन् । जीवनमा सबैभन्दा बढी खुसी कहिले हुनुभयो भन्ने प्रश्नमा डा. थापा भन्दन्–जुन दिन मैले रेडियो नेपालबाट आफू एसएलसी परीक्षामा बोर्ड थर्ड भएको समाचार सुनेँ, त्यो दिन मेरो लागि जीवनमा सबैभन्दा ठूलो खुसीको दिन थियो ।


कोलम्बो प्लानमा जान एक नम्बरमा छनोट भएको दिन उनको अर्काे सर्वाधिक खुसीको दिन हो । उनको जीवनमा बेलायतको रोयल कलेजबाट एफआरसिपी प्राप्त गरेको दिन अर्को खुशीको दिन थपियो । डा. थापा बिरामीलाई सेवा पुर्‍याउँदाको क्षणलाई वास्तवमा साँचो खुसी ठान्छन् । स्वास्थ्य क्षेत्र आत्मसन्तुष्टिको विषय हो । बिरामी सञ्चो भएर धन्यवाद दिँदाको क्षणलाई स्वर्णीम आनन्द मान्ने डा. थापा बालक र युवाले असहज, अकल्पनीय मृत्युवरण गरेको देख्दा असह्य पीडा अनुभूत गर्छन् । गरिब तथा पछि परेको वर्गले कहिलेकाँही औषधी, उपचार गर्न नसकेको क्षण देख्नुपर्दा उनको मुटु भक्कानिन्छ । पोखरामा नै स्वास्थ्य क्षेत्रमा स्नाकोत्तर पढाइ गर्ने अवसर जुराईरहन पाउँदा बेग्लै आनन्द भएको महसुस भएको उनी सुनाउँछन् ।


स्वास्थ्य क्षेत्र अर्थात अस्पतालमा टोकन सिस्टम आवश्यक छ । बिमारी स्वयं लाइन बस्नुपर्ने अवस्था राम्रो होइन । सरकारी अस्पतालमा उपकरण प्रशस्त मात्रामा हुन जरुरी छ । उनले स्वास्थ्य बिमालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको उनी सुनाउँछन् ।


०३० फागुन २४ गते हरिमायासँग वैवाहिक सम्बन्धमा गाँसिनुभएका डा. थापाका २ छोरा सुरेश र मदन डाक्टर छन् । बुहारी रोहिणी पनि प्राध्यापक छिन् । परिवारका सबै सदस्य स्वास्थ्य क्षेत्रमा संलग्न छन् । स्वास्थ्य क्षेत्रमा अत्यधिक व्यापारिकरण हुन थालेकोमा चिन्ता व्यक्त गर्दै डा. थापा भन्दछन्–स्वास्थ्य क्षेत्र वास्तवमा सेवामूलक क्षेत्र हो । स्वास्थ्य क्षेत्र सोसियल मेडिसिन हो ।


उनी उपचार गर्ने क्रममा मनोवैज्ञानिक चिकित्सा सेवा दिने गर्दछन् । बिमारीको पृष्ठभूमि सोध्ने, खोज्ने गर्दछन् । बिमारीलाई आत्मशान्ति प्रदान गर्न हाँसीहाँसी ढाडस दिन्छन् । मीठो बोल्छन्, सक्दो सहयोग गरी बिमारीको मनोबल बढाउँछन् ।
प्राडा थापाले स्वास्थ्य क्षेत्रमा चाहे जत्तिको संख्यामा विद्यार्थी भर्ना गर्न नसक्दा पर्याप्त खुसी भने भेट्न सकेका छैनन् । उनको योजना थियोः पोखरालाई नेपालकै स्वास्थ्य, शिक्षाको हव बनाउने । अहिले नेपालको सुन्दर नगरी पोखरा अन्य मुलुकका विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।


उनी नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष पनि थिए । उनी लायन्स क्लब अफ पोखराका पूर्व अध्यक्ष पनि हुन् । संसारका धेरै देश घुमेका डा. थापा पोखरा विश्वविद्यालयका सभासद थिए । डा. थापा जिपी अस्पतालको बोर्ड मेम्बर पनि भए । थुप्रै संघ, संस्थामा क्रियाशील डा. थापा जीवनलाई वरको रुखसँग तुलना गर्दै भन्छन्–मान्छेले आफ्नो उद्गमस्थललाई कहिल्यै बिर्सन हुँदैन , संधै मलजल गर्नुपर्दछ ।

आफ्नो ठाउँको, आफ्नो गाउँको विकासका लागि दत्तचित्त भएर लाग्नु पर्दछ । मलाई अर्को जन्ममा पनि मनुष्य हुने अवसर ईश्वरले दिएछ भने म प्रार्थना गर्छु, आफ्नो ठाउँको लागि केही गर्न सकूँ । डाक्टर हुनुको मज्जा के हुन्छ भन्ने प्रश्नमा डा. थापा भन्छन्–मानवताको भावनाले प्रेरित भएर डाक्टरले बिमारीको सेवा गर्दा प्राप्त हुने आनन्द केहीसँग तुलनै हुँदैन ।

तपाईको प्रतिक्रिया