२ समूहको सेमीफाइनल सकियो

समाधान संवाददाता २०८० माघ २६ गते ११:३५

पोखरा ।
पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समीकरण पूरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बिहीबार सात खेल सम्पन्नसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।


पोखरा १ टुँडिखेल खेलमैदानमा ४० वर्षमाथि उमेर समूहको पहिलो सेमीफाइनल खेलमा जोरपाटी भेट्रान काठमाडौंले टाइव्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दोस्रो खेलमा नागस्वेती भेट्रान हेटौडाले ठमेल भेट्रान काठमाडौंलाई १–० ले हराउँदै फाइनलमा जोरपाटीको भेट पक्का गरेको हो । यी दुई बिचको फाइनल शनिबार हुनेछ ।


६० वर्षमाथि उमेर समूहको सेमीफाइनल खेलमा बगर भाइखलक रातोले युके मास्टर उत्तरखण्ड भारत सेतालाई ३–१ ले हरायो । बगरको जितमा आनन्द रञ्जीले दुई तथा दिशेन कुमार श्रेष्ठले एक गोल गरे । भारतका लागि विमल पासवानले एक गोल गरे । दोस्रो सेमिफाइनल खेलमा युके मास्टर उत्तरखण्ड भारत पहेँलोले बगर भाइखलक सेतोलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

Advertisement


निर्धारित समयको खेलमा भारतका लागि लक्ष्मण सिंहपातले २ गोल गरे भने बगरका लागि शम्भु केसी र विदुर विष्टले समान एक गोल गरे । शुक्रबार बगर रातोले उपाधिका लागि भारत पहेँलेको सामना गर्ने छ ।


बिहीबार नै ५० वर्षमाथिको क्वाटरफाइनल खेलमा बानेश्वर फ्रेन्डसिप थापा गाउँले फ्रिडम धोलारटी ललितपुरलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । वानेश्वरको जितमा शशि गौतम र प्रविर केसीले गोल गरे भने धोलारटीका लागि तेजबहादुर मगरले एक गोल गरे ।

Advertisement


दोस्रो खेलमा बगर भाइखलकले बुटवल भेट्रानलाई ४–० ले हरायो । बगरको जितमा दीपक पुनले २ तथा धन कुमार गुरुङ र दलबहादुर गुरुङले एक–एक गोल गरे ।


तेस्रो खेलमा कैलाली भेट्रानले चितवन भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलमा कैलालीका लागि डम्बर विक्रम शाह र चितवनका लागि मनोज लामाले गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया