३ सय सामुदायिक स्कुलका भवन निर्माण

समाधान संवाददाता २०८० माघ २८ गते १०:४०

पोखरा ।
शिक्षाको क्षेत्रमा कार्यरत समाजिक संस्था पहार ट्रस्ट नेपाल पोखराले नेपालका ग्रामीण क्षेत्रमा ठूला साना गरी ३ सयभन्दा बढी सामुदायिक विद्यालयका भवन निर्माण गरेको छ ।


पूर्वको ताप्लेजुङदेखि पश्चिमको दैलेखसम्मका २७ जिल्लामा विद्यालय भवनका अलवा स्वास्थ्य चौकी, छात्रावास तथा बाल विकास केन्द्रका भवन बनाएको संस्थाका अध्यक्ष विजुलीबहादुर गुरुङले जानकारी दिए । संस्थाको शनिबार भएको ११ औं वाषिक साधारण सभामा अध्यक्ष गुरुङले १५ जिल्लाका ६८ विद्यालयमा पुस्तकालय निर्माण गरेको बताए ।


पहार ट्रष्टले बनाएका सबै भवन पक्की, भूकम्प प्रतिरोधी तथा बाल मैत्री भएको उनले उल्लेख गरे । ‘संस्थाले विगत ३० वर्ष यता नेपालको विकट तथा दर्गम क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भवनका अलवा विद्यालयलाई आवश्यक पर्ने शैक्षिक समाग्री उपलब्ध गराएको छ,’ अध्यक्ष गुरुङले भने, ‘शिक्षासँगै संस्थाले स्वास्थ्य संस्थाको निर्माण र उपकरण सहयोग प्रदान गर्दै आएको छ ।’

Advertisement


उनले संस्था ३० वर्ष पुगेको अवसर बाल विकास केन्द्र र छात्रवृत्ति कार्यक्रम समेत चलाएको जानकारी दिए । संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक चन्द्रबहादुर गुरुङले पहार ट्रष्ट नेपाल युके लगायतका दातृ निकायको सहयोगमा सन १९९१ देखि सामुदायिक विद्यालयको भवन सुरुवात गरेको बताए ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको दैलेखसम्मका ग्रामीण क्षेत्रमा ठूला साना गरी ३ सयभन्दा बढी स्कुल भवन बने

Advertisement


उनले १० हजार विद्यार्थीबाट सहयोगको सुरुवात गरेकोमा अहिले ६४ हजार पुगेको जानकारी दिए । उनले पछिल्लो समयमा विद्यार्थी संख्यामा कमी भएको कारण सामुदायिक विद्यालय संकटमा परेको उल्लेख गरे ।


संस्थाका महासचिव टेकमान प्रधानांगले पुस्तकालयको दिगोपनाका लागि हस्तान्तरण हुनुअगाडि सबै पुस्तकालयमा न्यूनतम ३ लाखको कोष स्थापना गर्न सहयोग गरेको बताए । जसको कारण संस्थाले स्थापना गरेको पुस्तकालयहरु १३ वर्षसम्म पनि उत्तिकै व्यवस्थित रुपमा निरन्तर रुपमा चलेको उनले जनाए । उनले सबै पुस्तकालयबाट १९ हजार ५ सय २६ विद्यार्थी र १ हजार १ सय ४७ शिक्षकले पठन पाठन सुविधा लिएको उल्लेख गरे ।


संस्थाका कोषाध्यक्ष रिना रानाले दातृ निकायबाट प्राप्त सबै बजेटलाई समाज कल्याण परिषद् र सम्बन्धित स्थानीय तहबाट अनुमति लिएर वडा कार्यालय र स्थानीय समुदायको समन्वयमा परिचलान गरेको जानकारी दिइन् । उनले सार्वजनिक खरिद ऐन अन्तर्गत रही आर्थिक अनुशासनको पालना गर्दै आय व्ययको सबै हरहिसाब पारदर्शी रुपमा राखेको दाबी गरिन् ।


सभाले महासचिव प्रधानांगले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र कार्यालय प्रमुख कान्ता घलेले पेश गरेको वार्षिक प्रस्तावित कार्यक्रमलाई सुधारसहित पारित गरेको छ ।


कार्यक्रममा पहार ट्रष्ट नेपालका उपाध्यक्ष कृष्णबहादुर गुरुङ, सचिव मिनजंग गुरुङ, कार्यसमितिका सदस्य लक्ष्मी थापा गिरी, कालिका मावि आपु भञ्याङका प्रधानाध्यापक प्रेम पोखरेल, हिमालय मावि मौजाका प्रधानाध्यापक मणिराज परियार, सिर्सेकोट आधारभूत विद्यालयका स्याङजाका प्रधानाध्यापक गौमती गुरुङ लगायतले संस्थाले शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया