अमरसिंह मावि र ग्लोबल स्कुल चेस च्याम्पियन

समाधान संवाददाता २०८० माघ २८ गते ११:३०

पोखरा ।
अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् ।


छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक पाएको निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् ।


छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल ‘ए’ १० अंकसहित द्वितीय, श्री विन्ध्यावासिनी मावि ‘ए’ तृतीय, कुमुदिनी होम्स चौंथो र रेन्बो एकेडेमी पाँचौ भए । विन्ध्यवासिनी, कुमुदिनी र रेन्बोले समान ८ अंक पाए । ६ राउन्ड खेल्दा यी विद्यालयका विद्यार्थीले जितेका खेल, समयसहित कम्प्युटरले हिसाब गर्दा बुचर टेबल प्वाइन्टको आधारमा विजयी स्थान घोषणा गरिएको हो ।

Advertisement


छात्रातर्फ बाल विद्या मन्दिर १०.५ अंकसहित द्वितीय, त्रिवेणी पब्लिक स्कुल ९ अंकसहित तृतीय, ताराकुञ्ज मावि ९ अंकसहित चौंथो र प्रतिभा मावि ‘ए’ ८ अंकसहित पाँचौ भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रातर्फ द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार र ३ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।


चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । छात्रतर्फ कालिका मावि छैटौं, ग्लोबल कलेजियट सातौं, केफ सेकेन्डरी स्कुल आठौं, मदरल्यान्ड मावि नवौं र अमरसिंह मावि १० औँ भए । छात्रातर्फ अमरसिंह मावि ‘ए’ छैटौं, हार्बड एकेडेमी सातौं, अञ्जुली आवसीय मावि आठौं, छोरेपाटन मावि नवौं र हिमालयन बोर्डिङ स्कुल १० औँ भएको आयोजकले जनाएको छ । छैंटौदेखि १० औँ हुने विद्यालयका विद्यार्थीले मेडल र प्रमाणपत्र पाए ।

Advertisement


पुरस्कार वितरणपछि खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले चेसमा विद्यार्थीको उत्साहपूर्ण सहभागिताले सकारात्मक सन्देश दिएको सुनाए । विद्यालय तहबाटै चेस खेल्नेतर्फ रूचि हुनु, बढाउन सकेमा यसले मानसिक स्वास्थ्य र सोच्ने शैलीमा विकास हुने उनले बताए । बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हिराकाजी महर्जनले चेस बौद्धिक खेल भएकाले यसले विद्यार्थीको पढाइमा योगदान गर्न भूमिका खेल्ने बताए ।


उनले देशभरका ५५ जिल्लामध्ये कास्की बुद्धिचालमा सक्रिय रहेकाले यसलाई निरन्तरता दिन आग्रह गरे । पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले विद्यालय तहमै चेसको विकास गर्न यो प्रतियोगिता गरेको बताए । उनले विद्यार्थीको संख्या प्रशंसालायक देखिएको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार र शनिबार चलेको प्रतियोगितामा ६० विद्यालयका २ सय ५० जनाभन्दा बढी विद्यार्थी सहभागी थिए ।

तपाईको प्रतिक्रिया