फागुन १ देखि अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल

समाधान संवाददाता २०८० माघ २८ गते १४:४२

पोखरा ।
ड्याम साइड क्लबको आयोजनामा आउँदो फागुन १ गतेदेखि अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । फागुन महिनाको ६ गतेसम्म सशस्त्र प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा तेस्रो संस्करणको उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।


पोखरा महानगरपालिकाको सहयोग तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने यस प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी गरी १९ वटा विद्यालयहरुको सहभागिता हुने क्लबका अध्यक्ष प्रताप गुरुङले बताए ।


६ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएको छ । हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्टसहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रदान गरिने भएको सचिव राकेश श्रेष्ठले बताए । प्रतियोगिताको गत वर्षको विजेता छोरेपाटन मावि हो ।

Advertisement


खेलकुदको सहर पोखरामा विगत २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हँुदै आएको क्लबले विश्वकै चर्चित खेल फुटबल खेलको तल्लोस्तर (ग्रासरुट) बाट विकास गर्ने उद्देश्यले विगत २ वर्षदेखि उक्त प्रतियोगितालाई निरन्तरता दिँदै आएको पूर्वअध्यक्ष पदम ढकालले बताए ।


पोखरा १७ का वडा सदस्य विक्रम गुरुङले वडाको खेलकुदलाई चलायमान बनाउन उक्त प्रतियोगितासहित अन्य खेलकुद गतिविधिलाई वडाले प्रबद्र्धन तथा प्रमोसन गर्दै आएको बताए । क्लबबाट वसन्त गौचन, विशन गौचन, राजेन्द्र तामाङसहितका खेलाडीसहित ए डिभिजनमा खेल्ने करिब २५ जना खेलाडीहरु उत्पादन गर्न सफल भएको क्लबको दाबी छ ।

Advertisement

फुटबल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुन लागेको क्लवले जनाएको छ । क्लबले विभिन्न सरसफाइदेखिका आर्थिक सहयोग गर्ने लगायत सामाजिक काम गर्दै आएको अध्यक्ष गुरुङले दाबी गरे ।

तपाईको प्रतिक्रिया