भानुभक्त माविमा अभ्यास अदालत प्रतियोगिता

समाधान संवाददाता २०८० माघ २९ गते ११:२८

पोखरा ।
भानुभक्त आवासीय माध्यमिक विद्यालय सिम्पानीमा अभ्यास अदालत प्रतियोगिता भएको छ । रानिताल नामको काल्पनिक तालको जलाधार क्षेत्रमा तालमा आउने गेग्रान नियन्त्रण गर्न तथा उत्खनन गर्ने रिटलाई विषयवस्तु बनाइएको हो ।


भूमि नगरपालिका नामक स्थानीय तहले सार्वजनिक हित प्रतिकूल रानिताल सिल्टेसन प्रालि नामक कम्पनीसँग गरेको २४ वर्षे सम्झौता उत्प्रेषणको आदेशद्वारा खारेज गर्न, कम्पनीले निर्माण गरेको बाँध भत्किदा भएको जनधनको क्षतिपूर्ति तथा तालको संरक्षणका लागि आवश्यक कार्य गर्न परमादेशको माग गर्दै दायर रिट निवेदनलाई प्रतियोगिताको विषयवस्तु बनाइएको थियो ।


प्रतियोगितामा २१ टिम सहभागी थिए । उच्च अदालत पोखराका शाखा अधिकृत सुमिना गुरुङ, मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका सहायक न्यायाधिवक्ता सागर बराल, गण्डकी विश्वविद्यालयका सहायक प्राध्यापक सविन तिवारी, विद्यालयका कानुन संकाय संयोजक प्रदीप अधिकारी, विद्यालयका शिक्षक ईश्वर परियार, विद्यालयको क्लिनिकल ल विभागका प्रशिक्षक भानुभक्त लम्साल निर्णायक थिए ।

Advertisement


प्रतियोगिताको अन्तिम चरणमा कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्मा र कास्कीका जिल्ला न्यायाधिवक्ता गोपाल ढकाल निर्णायक थिए । न्यायाधीश शर्माले कानुन व्यवसायी सामाजिक इन्जिनियर भएको जनाउँदै उनीहरु चनाखो नरहे सार्वजनिक सम्पत्ति र सम्पदा दुवै नजोगिने जनाए । न्यायाधिवक्ता ढकालले विद्यार्थीको प्रस्तुति उत्कृष्ट जनाए ।


प्रतियोगितामा अञ्जना सुवेदी, सुहानी पौडेल र सफलता गौतमको समूह प्रथम, समिति बराल, स्वस्तिका क्षेत्री र आयुषा वाग्लेको समूह द्वितीय र सुमित्रा पौडेल, सजना थापामगर र स्वागत भुसालको समूह तृतीय भएको छ । अञ्जना सुवेदीले उत्कृष्ट बहसकर्ता, सफलता गौतम उत्कृष्ट खोजकर्ता र सुवानी पौडेलले स्प्रिट अफ द मुट उपाधि हासिल गरेका थिए ।

Advertisement


कार्यक्रममा कक्षा ११ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रशंसा पौडेल, समिति बराल, सुमित्रा पौडेल र शान्ति अधिकारीलाई पुरस्कृत गरिएको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार लामिछानेले कानुनका विद्यार्थीका रूपमा आर्जन गरिने सैद्धान्तिक ज्ञानलाई व्यवहारिकतामा रूपान्तरण गर्न यस्ता कार्यक्रमले सघाउने जनाए ।

तपाईको प्रतिक्रिया