बिदामा स्थानीय सरकारकाे मनलाग्दी

प्रमिला कुँवर २०८० फागुन १ गते १०:३०

पोखरा ।
जनयुद्ध दिवसको अवसरमा मंगलबार गण्डकीका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । गृह मन्त्रालयले यसअघि कायम भएको बिदा अहिले नरहेको जनाए पनि प्रदेशका ८५ पालिकामध्ये केही पालिकाले बिदा दिएका हुन् ।

गोरखाको गण्डकी गाउँपालिका, सहिद लखन, भीमसेनथापा, बारपाक सुलिकोट, अजिरकोट, धार्चे, तनहुँको आँबुखैरेनी, बागलुङको ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको ४ नम्बर वडाले फागुन १ गते बिदा दिने निर्णय गरेका हुन् । बिदाका दिन पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वित्तीय संस्थाहरु बन्द रहनेछन् ।


गत वर्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेपछि सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिएको थियो । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्व’ दिवसका दिन बिदा दिने निर्णय गत वर्ष कार्यान्वयन भए पनि यसको विरोध भएको थियो ।

Advertisement


पछि सर्वोच्च अदालतमा बिदा खारेज गर्न माग गर्दै रिटसमेत पर्‍यो । गृहले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित बिदा कायम नरहेको जनाए पनि स्थानीय सरकारहरुले आफूखुसी बिदा दिएका छन् ।


२०७५ को अन्तरप्रदेश समन्वय परिषदको बैठकले संघीय सरकारले दिएकाबाहेक प्रदेशमा प्रचलित धर्म, रीतिस्थिति समेतलाई दृष्टिगत गरी प्रदेश सरकारले बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था गरेको थियो । गण्डकी प्रदेशले प्रदेश दिवस फागुन ४ गते र गुरुङहरुको ट्वोटे पर्वमा बिदा दिने गरेको छ ।

Advertisement


विभिन्न चाडपर्व, दिवस, जन्मजयन्ती गरी २०८० सालमा ३४ दिन सार्वजनिक बिदा छन् । ५२ दिन शनिबार र स्थानीय बिदा गरी करिब १ सय दिन नेपालमा बिदा हुन्छ । शिक्षण संस्था र केही कार्यालयले शुक्रबार आधा दिन बिदा दिन्छन् । यसरी नेपालमा १२ महिनामा ३ महिना बिदा दिइन्छ ।


नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई विभिन्न काम, कर्तव्य र अधिकार तोकेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सार्वजनिक बिदाबारे केही उल्लेख छैन । तर, बिदा दिन नपाइने भन्ने पनि उल्लेख नभएकाले स्वायत्त सरकारका रुपमा स्थानीय तहरुले स्थानीय बिदा दिने अभ्यास चलाइरहेका छन् ।


गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना जनयुद्ध दिवसलाई संघीय लोकतन्त्र गणतन्त्रको मुल अभियानका रुपमा लिएकाले पालिकाले बिदा दिएको जनाए । यसपालि संघीय सरकारले बिदा नदिए पनि गाउँसभाबाट पारित गरी पालिकामा बिदा दिइएको उनको भनाइ छ ।


‘देशमा भएका परिवर्तनको मुख्य कारण जनयुद्ध हो । जनयुद्ध के हो र किन जनयुद्ध दिवस मनाइन्छ भनेर नयाँ युवा पुस्ताले जान्नु आवश्यक छ,’ उनले भने, ‘जनयुद्धका सहिदलाई सधैं सम्झिरहन र उनीहरुप्रतिको सम्मानमा बिदा दिइएको हो । हामीले न्यागी पर्वमा पनि बिदा दिएका थियौं, सबै समुदायप्रति हाम्रो समान व्यवहार छ ।’


जनयुद्धका घाइतेलाई परिपुरण दिन र समस्याको समाधान खोज्नतिर नलागी बिदा दिनु लज्जास्पद भएको बार एसोसिएसन कास्की अध्यक्ष भगवती पहारीले बताउँछिन् । जनप्रतिनिधिले कानुन विपरीतका कार्य गर्न नहुनेमा जोड दिँदै उनी भन्छिन्, ‘यसरी जथाभावी दिइने बिदाले शैक्षिक, स्वास्थ्य क्षेत्र लगायत विकासका काममा वाधा पुग्छ । जनयुद्ध दिवसमा बिदा दिनु अनुचित भन्दै सर्वोच्चमा परेको रिटको टुंगो नलाग्दै पालिकाहरुले बिदा दिएर सरकारसँग नै च्यालेन्ज गरेको जस्तो भयो ।’ स्थानीय सरकारहरुले आफू अनुकूल कानुनको व्याख्या र प्रयोग गर्ने गरेको उनको टिप्पणी छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया